स्थानीय तहको अधिकार सिंहदरबारभित्रै सीमित भयो : खेमराज नेपाल

आचारसंहिता बनाए नेपालको सार्वजनिक प्रशासन ठिक ठाउँमा आउँछ 
आइतबार, चैत १८, २०८०

दलीय रुपमा खुलेका ट्रेड युनियनले सार्वजनिक प्रशासन बिगारे 

‘नेपालको संविधान २०७२’ जारी भएपछि मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीयतामा गयो । स्थानीय, प्रदेश र संघ सरकार बन्यो । तर संघीयताका सवालमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । अधिकार र कार्यक्षेत्र प्रष्ट नहुँदा संघीयता कार्यान्वयनमा समस्याहरु देखिएका छन् । नेपालको परिप्रेक्षमा संघीयता नै अन्तिम विकल्प हो त भन्ने प्रश्न पनि उठिरहेका छन् ।
स्थानीय तह जनताका सबैभन्दा नजिकको सरकार भएपनि त्यस्तो अनुभूति हुन सकेको छैन । जनताका सबै प्रकारका समस्याहरू सम्बोधनको पहिलो संयन्त्र स्थानीय सरकार हो । किनकी स्थानीय सरकारले गर्भदेखि चिहानसम्मका सबै काममा सहयोग पु¥याउनु पर्दछ । तर पनि जनता आफ्ना समस्या लिएर सिंहदरबार धाउन छाडेका छैनन् । प्रशासनिक सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । कर्मचारीहरु दलीय रुपमा वा ट्रेड युनियनका माध्यमबाट विभाजित भएपछि सार्वजनिक प्रशासन कमजोर बन्दै गएको छ ।  यसै सिलसिलामा २०३२ सालमा शाखा अधिकृतबाट सरकारी सेवा शुरू गरी राष्ट्रिय योजना आयोगमा सहसचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सचिव र स्थानीय विकास मन्त्रालय सचिवकै रुपमा कार्य गर्दागर्दै अवकास लिएका पूर्वसचिव एवम सार्वजनिक प्रशासनका अध्येता खेमराज नेपालसँग नेपाल न्यूज बैंकका तर्फबाट संघीयता र सार्वजनिक प्रशासनमा केन्द्रित रही कुराकानी गरेका छौं । 
मुलुक संघीय संरचनामा गएको छ । यतिबेला सार्वजनिक प्रशासन कुन गतिमा गइरहेको छ एवम सम्भावना र चुनौतीहरु कस्ता छन् ? 
नेपाल संघीयता जानु खुशीको कुरा हो । यो व्यवस्थामा धेरै विषयहरु तल्लो तह (स्थानीय तह)ले नै निर्णय गर्नसक्छ । यतिबेला हामीले पाँच–सात वटा विषयमा केन्द्रीत रहेर बहस गर्नुपर्ने हुन्छ । तीमध्ये एउटा मुख्य कुरा संघीयता कार्यान्वयनको पाटो हो । संघ, प्रदेश र स्थानीय सरकार गरि तीन तहको सरकार बनिसकेको छ । स्थानीयस्तरको काम स्थानीय सरकारले गर्छ भनिए पनि नागरिकहरु सामान्य समस्या लिएर पनि किन सिंहदरबारको गेटमा आइरहेका छन्, यो प्रमुख मुद्दा हो । स्थानीय समस्या लिएर नागरिकहरु किन काठमाडौं धाइरहेका छन् भन्ने विषय प्रमुख हो । तल्लो तहको सरकारले समस्यामाथि डिल गर्नुपथ्र्यो नि, त्यो किन भइरहेको छैन ?
अर्को कुरा प्रत्येक दिन त्रिभुवन विमानस्थलमा देश छाड्ने नागरिकको लर्को लागेका हामी पाउँछौं । विद्यार्थी, श्रमिक, व्यवसायी जोसुकै भए पनि किन जोसुकैले विदेश जानुपरेको छ ? नेपालका मुख्य चाड दसैंतिहारमा अन्य देशबाट नागरिक नेपाल फर्किने बेलामा पश्चिम नेपालका नेपालगञ्ज, गड्डचौकी लगायतका नाकाबाट दसैंका बीचमा पनि काम खोज्न भारत गएको देखिन्छ । यी विषयहरु हेर्दा हामीले नेपालको संघीयतालाई मजाले विश्लेषण गर्नुपर्ने देख्छु । कुन तहले के काम गर्नुपर्दथ्यो र किन भएन भन्ने ठाउँबाट हेर्नुपर्ने हुन्छ । 
अहिले प्रदेशले पनि संघले गृह प्रशासन अन्तर्गतको अधिकार नदिए विद्रोह गर्छौ भनेको छ । स्थानीयले पनि हामीले गर्ने काममा केन्द्रले हस्तक्षेप गरेको छ भन्ने आरोप लगाउँछ । त्यसैले हामीले नेपालको प्रशासनमा  सुधार ल्याउन तीन तहको क्षेत्राधिकार छुट्याएर कामकाज बाँडफाँड गर्नुप¥यो । प्रविधिको विकाससँगै पहिलेभन्दा दक्ष व्यक्तिहरु प्रशासनमा हुँदाहुँदै नेपलको प्रशासन क्षेत्र राम्ररी चलेको पाउन सकिँदैन । हामीले प्रशासनलाई एउटा गाडीका रुपमा हेर्नुपर्दछ ।  प्रशासन पनि चालकको हातमा हुन्छ । चालकले राम्ररी चलाउन सके राम्रो, राम्ररी चलाउन नसके नराम्रो हुने नै भयो । यसको चालक को हो भन्नुहुन्छ भने राजनीति हो । नेपालको राजनीतिमा कस्ता नेता छन् भन्ने मुख्य कुरा हो । तल्लो तहका कर्मचारीलाई परिचालन गर्ने मान्छेको चरित्र कस्तो छ भन्ने कुराले पनि विशेष अर्थ राख्छ । सहि रहेछ भने राम्रै नतिजा आउँछ । नभए दुर्घटना त हुने नै भयो । 
हामीमा कानुनले चोख्याइदिए सब ठिक छ भन्ने प्रवृत्ति भयो ।  कुनै पनि मानिस आफैंले म यो स्थानमा बस्न ठिक छ कि छैन भनेर बुझ्दैन । नेपालको कुरा गर्ने हो भने प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुले के गर्न हुने र के गर्न नहुने भन्ने आचारसंहिता आजको मितिसम्म बनिसकेको छैन । यदि आचारसंहिता बनाउने हो भने जनताले प्रश्न उठाउन पाउँछन्  । खास भन्ने हो भने आचारसंहिंता कानुनभन्दा ठूलो विषय हो । नेपालका नेताहरु विवाह, भोज, भत्तेर सहितका कार्यक्रममा समेत पदसहित गएर पदको दुरुपयोग गर्छन् । 
अर्को गम्भीर कुरा के छ भने निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ ।. त्यो कुनै दलको हुने त कुरा नै भएन तर हाम्रा कर्मचारी ट्रेड युनियनमा बाँडिएर दल दलका भएर बसेका छन् । उनीहरु त आफ्नो पार्टीको लाइनमा जाने नै भए नि होइन ? पार्टीको फेवरमा काम गरिरहेका छन् । यो राम्रो होइन । उनीहरुले पनि नेपालको प्रशासन धेरे नै विगारेका छन् । 
तपाईं आफैं सरकारी सेवा काम गर्दा पंचायतकाल हुँदै २०४६ सालदेखि नेपाल संविधान जारी हुँदासम्मको अवधीको अनुभव संगाल्नु भएको छ । त्यो अवधिमा सार्वजनिक प्रशासनको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
हो, नेपालको प्रशासन विकासक्रम राम्रै छ । सैद्धान्तिक रुपमा धेरै राम्रा कुराहर आए वा ल्याइए । तर व्यवहारिक रुपमा त्यो अगाडि बढेन । पञ्चायतकालमा प्रशासनिक क्षेत्रमा आचारसंहिता कस्तो थियो भने दलीय कुराहरु गर्न पाइदैन थियो । राजनीतिक दलका टे«ेड युनियनहरु थिएनन् । सबै कुराहरुमा बन्देज गरिएको थियो । खुरुखुरु आफ्नो कामहरु गरिरहनुपर्ने हुन्थ्यो । अहिले अलि खुकुलो भएको छ । आफूलाई चित्त नबुझेका कुराहरु प्रशासनभित्रै पनि हामी गर्न पाउँछौं, दिएको म्यान्डेटभित्र बसेर । त्यो भित्र बसेर अहिले हामी लेख लेख्न सक्छौं । अन्तर्वार्ता दिन पनि सक्छौं । धेरै कुराहरु राम्रो भएको छ । अर्को सकारात्मक पक्ष केहो भने अहिले हामी बाहिरी संसारसँग भिजिसकेका छौं । त्यहाँका कुराहरु लिएर हामी परिमार्जित हुन सक्छौं । उतिबेला प्रशासनले सबै उद्योग क्षेत्र चलाउनुुपर्ने थियो । अहिले नीजि क्षेत्र निकै बलियो भएर आएको छ । पहिलेभन्दा अहिलेको प्रशासनिक कुराहरुमा खुलापन, अवसर र सुधार भएको छ । 

Interview-(Web-Post)-1711865014.jpg

प्रशासन सुधार समिति २०७० बनेपछि पनि सार्वजनिक प्रशासन त्यति व्यवस्थित भएन भनिन्छ । कानुनहरु पनि समयानुकूल परिवर्तन भएनन् । कानुन नबन्दाको असर चाहिँ कस्तो छ ? 
त्यसले पक्कै पनि असर त पारेको नै छ । म छक्क त के कुरामा पर्छु भने पहिले पहिले बाहिरका राम्रा राम्रा विश्वविद्यालयमा पढेर आएका मान्छेहरु कम थिए । तर त्यसो हुँदाहुँदै पनि त्यतिखेर बनाएका नीति, ऐन र नियमहरु चाहिँ कमजोरी देखिने खालका थिएनन् । राम्रा थिए । अहिले धेरै व्यक्तिहरु विदेशमा पढेर आए, राम्रोसँग विकसित देशहरुका नीतिहरु बुझेर आए तर उनीहरुले बनाएका ऐन र नियमहरुमा चाहिँ दुविधा छ । नीतिलाई अगाडि बढाउनका लागि कानुन बन्ने हो । नीति नै गलत किसिमको बनेपछि त ऐन परिवर्तन गरिरहनुपर्ने, समय समयमा परिमार्जन गर्नुपर्ने समस्या आएको छ नि । 
अहिले यति धेरै विज्ञ भएको अवस्थामा पनि यस्तो किन भइरहेको छ भन्ने विषयमा सोच्न जरुरी छ । अहिले कुनै पनि काम अलि लामो समयका लागि गर्ने हो भने समस्या भइरहेको छ । त्यही भएर छोटो समयका लागि गर्नुपरेको छ । ऐन र कानुन निर्माणको प्रक्रियामा सोच्ने बेला आएको छ । 
कर्मचारीको तलब भत्ता लगायतका सेवा सुविधाहरु समयअनुकूल नहुनु, सरुवा बढुवा पारदर्शी र वैज्ञानिक नहुनु पनि समस्या हुन कि ? 
यो आन्तरिक समस्याको कुरा हो । यस्ता धेरै कुराहरु मिलाउन बाँकी छ । नेपालको संविधान, २०७२ बनिसकेपछि निजामती सेवा ऐन तुरुन्तै परिवर्तन हुनुपथ्र्यो । त्यसो गर्न नसक्दा अहिले प्रशासन क्षेत्रमा समस्या नै समस्याको थुप्रो भयो क्या । ऐन बनाउन ढिला भएकै हो । तीन तहको सरकार बनेपछि स्थानीय तहको सरकारलाई आफ्नो कर्मचारीका बारेमा आफैं कानुन बनाउन दिएन । हाम्रो संविधानले ऐन र कानुन बनाउने अधिकार प्रदेश सरकार र संघ सरकारलाई मात्र दियो । अनि माथि सरकारले काम नै गरिदिएनन् । बिचरा स्थानीय सरकारलाई पंगु बनाइयो । त्यसैले अहिले कर्मचारीको सरुवा बढुवामा सारै ठूलो झमेला छ । स्थानीय तहमा जाने कर्मचारीलाई त्यस्तो उत्साह छैन, प्रोत्साहन छैन । त्यसैले कर्मचारीहरु सकभर स्थानीय तहमा जानु नपरोस् भनेर बसिरहेका छन् । उनीहरु सोर्सफोर्स लगाएरै भए पनि केन्द्र र प्रदेश सरकारमा बस्न चाहन्छन् । 
तपाई त विश्वका विभिन्न मुलुकहरुको प्रशासन क्षेत्रसँग जानकार हुनुहुन्छ । कुनै विकसित देशको मोडललाई आधार बनाएर नेपालको सार्वजनिक प्रशासनलाई जवाफदेही, समावेशी, प्रभावकारी र विश्वसनीय बनाउन सकिदैन ?
अहिले नै त्यसरी नहेरौं । नेपालको भोगोलिक परिस्थिति र जनसांख्यिक अवस्था कसैसँग मिल्दैन । दुई वटा ठुला मुलुक (चीन र भारत) का बीचमा च्यापिएको मुलुक भनेको नेपाल नै हो । हाम्रो भौगोलिक परिस्थिति तराई, पहाड र हिमाल मिलेर बनेको छ । यस्तो अरुतिर छैन । त्यसैले हामीले ऐन र नियम बनाउँदा यहाँको भौगोलिक अवस्थालाई हेरेर बनाउनुपर्ने हो । त्यसैले कुनै पनि देशको मोडल लागू हुन्छ भन्ने परिस्थिति अहिले देखिदैन । हामीले तत्काल गर्न सकिने विषय के हो भने स्थानीय सरकारलाई स्वायत्तता र स्वतन्त्रता दिनुपर्छ । 
स्थानीय सरकारले आफ्नै परिधिमा रहेर कसरी काम गर्नसक्छ भनेर हेर्नुपर्दछ । संविधानको अनुसूची ८ मा स्थानीय सरकारका लागि अधिकार दिएको छ । तर त्यो अधिकार मात्र पर्याप्त छैन । स्थानीय सरकारका लागि तीनवटा कुरामा काम गर्नुपर्दछ । जल, स्थल र जंगल । त्यसका लागि मानवीय स्रोत भनेको त्यहाँका नागरिक हुन तर स्थानीय सरकार पनि काम गर्नका लागि बडो अप्ठेरोमा छ । 
नेपालमा लामो समयदेखि स्थिर सरकार बन्न सकेको छैन । यसरी छिटो छिटो सरकार परिवर्तन भइरहँदा कर्मचारीको मनोविज्ञान र प्रशासन सेवा प्रवाहमा कस्तो असर परेको पाउनुहुन्छ ?
यो एउटा गम्भीर नकारात्मक परिपाटीका रुपमा स्थापित भएको छ । परिवर्तित सरकारले आफ्नो फेबरमा काम गर्न खोज्छन् । छिटो छिटो कर्मचारी सरुवा गरिदिन्छन् । यसले नतिजा दिन सक्दैन । कुनै काम गर्नका लागि योजना बन्छ । बीचमा सचिव अर्कातिर हिड्छ । मन्त्री फेरिइसकेको हुन्छ । कामले पूर्णता पाएको देखिदैन । तर, प्रधानमन्त्रीले बोल्नुभएको छ कि आगामी वर्षदेखि योजनाहरुको काम सल्ट्याउँछौं । यदि त्यसो गर्न सकिहाल्नुभएछ भने हामी राम्रो बाटोमा हिँडेको आभास गर्नेछौं । तर अहिलेको अवस्थामा कर्मचारीको सरुवा, बढुवाको तौरतरिका छ त्यो ऐन, नियमले नदिएको कारणले ठिक छैन । 
यी विविध कारणले अहिले युवाहरुलाई सरकारी सेवामा प्रवेश गर्न हतोत्साहित गराएको त छैन ?
त्यसो त अलि होइन । किनभने अहिले पनि लोकसेवाले माग गरेकामा हजारौं युवाहरु प्रतिस्पर्धा गर्न जाने गरेका छन् । तर एउटा कुरा के हो भने जति छिटो छिटो अवसरहरु आउनु पर्दथ्यो त्यो आएको छैन । अवसर सिर्जना गर्न सरकारले लोकसेवाबाट कर्मचारी माग गरेर हुनुपथ्र्यो त्यो भएको छैन । प्रशासनकै विरोध गर्ने, प्रशासनले  नै काम नगरिदिने भएपछि के गर्ने ? त्यसकारणले विश्वभरी जति नै अघि बढेको मुलुक भए पनि कम्पनीहरुलाई सोध्यो भने उनीहरुले समस्या सुनाइहाल्छन् । त्यसैले नेपालको कर्मचारीतन्त्रले त काम गरेको अवस्था नै छैन । 
सरकारी सेवामा रहेका प्रतिभाशाली, स्वाभिमानी, नैतिकवान र पेसागत क्षेत्रमा विशेष दक्षता भएका कर्मचारीहरुले सेवाबाट पलायन भएको पाउँछौं । एनजीओ÷आइएनजीओतिर लागेको पाइन्छ । यस्तो चाहिँ किन हुन्छ ?
निरुत्साहित हुने धेरै कुराहरु छन् । स–साना कुराहरुले पनि यसमा प्रभाव पारेको देखिन्छ । हाम्रोतिर कार्यालयको भौतिक व्यवस्थापन, वित्तीय सुविधा लगायतले पनि प्रभाव पारेको छ । अन्य विकसित मुलुकहरुले भने मनोवैज्ञानिक पक्षलाई पनि हेरिएको हुन्छ । ती देशहरुमा कर्मचारीको मानसिक अवस्थाको आधारमा काम कारबाही गर्न भनेका हुन्छन् । हाम्रोमा जस्तोसुकै अवस्था भए पनि काम गर्न भनेका हुन्छन् । श्रीमती बिरामी परेको बेला पनि श्रीमानलाई कहाँ हो कहाँ खटाइदिएका हुन्छन् । यस्ता साना साना कुराहरुलाई हामीले कहिल्लै सम्बोधन गर्दै गरेनौं । 
दलसँग आबद्ध कर्मचारीहरुले जसरी पनि कुनै न कुनै मन्त्रालयमा छिर्नैपर्छ । सुविधायुक्त ठाउँमा जान मरिहत्ते गरेकै हुन्छन् । उनीहरु त्यहाँ जान मरिहत्ते गर्नु भनेको भ्रष्टाचार गर्नका लागि त होला नि । तर ठूलो जमात हेरेर बसेका छन्, पहुँच पु¥याउन सकेका छैनन् । उनीहरु दुःखसुख जे भए पनि त्यति बोल्दैनन् । काम गरिरहन्छन् । उनीहरुलाई कसैले मतलब गरिदिंदैनन् । 
केही वर्षदेखि अख्तियारमा परेका उजुरीहरु केलाउने हो भने स्थानीय सरकारमा अत्यधिक बेतिथि र भ्रष्टाचार भएको सहजै अनुमान गर्न सकिन्छ । यसमा माथिल्लो तहमा रहेकाहरु उन्मुक्ति पाइहाल्ने र तल्लो तहका कर्मचारीहरुले दण्डित हुनुपर्ने भएकाले पनि कर्मचारीमा निराशा आएको हो कि ? 
त्यो चाहिँ स्पष्ट छ । अघि मैले आचारसंहिताका कुरा त्यही अनुसार गरेको हुँ । अहिले मन्त्रिपरिषद्ले निर्णय गर्ने वित्तिकै त्यो नीतिगत हुन्छ । त्यो नीतिगत हुने भएकाले त्यसलाई चाहिँ प्रश्न गर्न पाइँदैन । प्रश्न ग¥यो भने पनि त्यो भ्रष्टाचार गरेको होइन भन्ने पनि छ । तर त्यो सत्य होइन । भ्रष्टाचार अपराध नै हो । 
कुनै एक जनालाई लाग्नेगरि गरेको निर्णय नीति हुँदैन । सबैलाई लाग्ने भए पो त्यो नीति भयो । त्यसकारण भ्रष्टाचार तल्लो तहभन्दा बढी माथिल्लो तहमा भएको छ । तर, तपाईले भनेजस्तै कर्मचारी दण्डित हुनुपर्ने मन्त्रीहरुले उन्मुक्ति पाउने या चर्चाको विषय नै हो । यो रहिरहन्छ । अब बन्ने ऐनहरुमा सुधार हुँदै जाने आशा गर्न सक्छौं । 
तल्लो तहका निकायविरुद्ध उजुरी धेरै बढ्नुको कारण माथिल्लो तहमा भ्रष्टाचार गरेको पैसा कहाँ गयो देखिदैन । तर स्थानीय तहमा गरेको भ्रष्टाचार देखिइहाल्छ । कसैले घर किन्छ होला, कसैले गाडी किन्छ होला । त्यसले गर्दा भ्रष्टाचार गरेको प्रष्ट देखिन्छ । 
संघीयतालाई सफल बनाउन वा कार्यान्वयनमा ल्याउन के गर्नुपर्ला ? तपाई सुझाव के रहन्छ ?   
यसमा म एउटै कुरा भन्छु । अघि मैले सुरुमै भनेको कुरा हो । नागरिकहरु समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरबार भित्रै किन पस्न चाहन्छन् ? त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रुप फेरिन्छ । गाउँ गाउँमा सिंहदरबार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरु सिंहदरबारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन ग¥यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन । अधिकार सिंहदरबार भित्रै छ । म यत्ति भन्छु कि यहाँ ठूला ठूला कुरा नगरौं,  स–साना कुराहरुको सम्बोधन गरौं । भाषणले संघीयता कार्यान्वयन हुँदैन, नागरिकलाई अनुभुत हुनप¥यो । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार