कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो : पूर्वसचिव नेपाल

सोमबार, चैत १९, २०८०

काठमाडौं । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन् । उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे । 
नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ ।। त्यो कुनै दलको हुनुहुदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन् । उनीहरु आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उनले भने, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुदैन ।’
उनले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताए । ‘नागरिकहरु समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरबार भित्रै किन पस्न चाहन्छन् रु त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रुप फेरिन्छ,’ उनले भने, ‘गाउँ गाउँमा सिंहदरबार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरु सिंहदरबारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन ग¥यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन । अधिकार सिंहदरबार भित्रै छ ।’ उनले नागरिकको तहमा संघीयताको अनुभूति नै हुन नपाएको दाबी गरे । 
पूर्वसचिव नेपालले हरेक पटक सरकार फेरबदल हुँदा आफ्नो फेभरमा काम गराउने प्रवृत्ति हाबी हुँदा छिटो छिटो कर्मचारी सरुवा गरिदिने, र नतिजा नआउने अवस्था रहेको बताए । ‘कुनै काम गर्नका लागि योजना बन्छ । बीचमा सचिव अर्कातिर हिड्छ । मन्त्री फेरिइसकेको हुन्छ । कामले पूर्णता पाएको देखिदैन,’ उनले भने, ‘सरकार फेरिनेबित्तिकै आफ्नो फेभरको कर्मचारी ल्याउनुपर्ने नेतृत्वको सोच छ । कर्मचारीले पनि त्यही गरेर बिकृतिलाई प्रोत्साहन गरिदिएका छन् ।’

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार