सेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो

सोमबार, चैत १९, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं। साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।  सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो । यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो । 
१३ मध्ये होटल तथा पर्यटक र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ । आइतबार निर्जीवन बीमाबाहेक सबै परिसूचक घटेका थिए । आज १५२ कम्पनीको सेयरमूल्य घटेको छ भने ८६ को मात्रै बढोत्तरी छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।
७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँ छ । हिजो कारोबार रकम ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँ थियो । 
घटेको बजारमा पनि गुराँस लघुवित्त र मायाखोला हाइड्रोपावरको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । महुली लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । 
सर्वोत्तम सिमेन्टको सेयर आज उच्च कारोबार भएको छ । सेयरमूल्य प्रतिकित्ता ९४१ रुपैयाँ पुगेको यो कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैयाँको किनबेच भएको छ । हिजो सेयरमूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा रहँदा पनि यो कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नै पहिलो नम्बरमा थियो । हिजो सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो । 
यस्तै शिवम् सिमेन्टको ११ करोड, गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख, पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख रुपैयाको सेयर किनबेच भएको छ ।  
आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन हाइड्रोपावर, अपर लोहोरेखोला, धौलागिरी लघुवित्तलगायत छन् ।   

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार