सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उत्तरी छिमेकी मित्रराष्ट्र चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको जानकारी दिए । श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्रीमा नियुक्त भए लगत्तै उत्तरी छिमेकी चीनको भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै अन्य नाकाहरू पनि क्रमशः खुल्ने बताए । ‘चीन भ्रमणका क्रममा कोरोना महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको छ’, उनले भने । उनले यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए । नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताए ।