सोसल मिडिया
Contact Us
युनिकोड
मेरिल्याण्ड (अमेरिका) । नेपाली समुदायको उल्लेख्य संख्यामा बसोबास रहेको अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरलाई थप ब्यवस्थित र सुविधा सम्पन्न बनाउने लक्षका साथ मेरिल्याण्ड आध्यात्मिक महोत्सव श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । मार्च ३० अर्थात चैत्र १७ गते शनिबारबाट सुरु भएको महायज्ञ अप्रिल ६ अर्थात चैत्र २४ गते शनिबारसम्म चल्ने छ । महायज्ञका प्रमुख बाचकमा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेल रहेका छन् ।
महायज्ञलाई सफलता पूर्वक सम्पन्न गर्न श्रीमद्भागवत महायज्ञ मूल आयोजक समिति, कार्यसमिति, व्यवस्थापन समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् । पूजा व्यवस्थापन, कलशयात्रा, सरसफाई, पानी, प्रसाद व्यवस्थापन, टेन्ट व्यवस्थापन, पार्किङ व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापनलगायतका विविध समितिहरु बनाएर स्थानीय नेपाली समुदायका संस्था र व्यक्तित्वलाई जिम्मा दिइएको छ । यस पटक सञ्चालन भैरहेको श्रीमद्भागवत महायज्ञमा विभिन्न धार्मिक अनुष्ठानहरु गर्न सकिने व्यवस्था पनि गरिएको छ । जसअनुसार ब्रतबन्ध, तुलादान, कलश यात्रा, बेलविवाह, पितृउद्दार एवं लाखवत्ती प्रज्जवलन जस्ता धार्मिक कार्यहरु संचालन भैरहेका छन् ।
यसैक्रममा महोत्सवको पहिलो दिन कलश यात्रा भब्यरुपमा सम्पन्न भएको छ । ५ सय १ वटा कलश नेपाली समुदायका व्यक्तित्वहरुले प्रति कलश १ सय १ डलर तिरेर सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक कलश राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा सजावट गरी कलश राखिएको र ति कलशहरु सात दिनसम्म अर्थात महायज्ञ अवधिभर सोही स्थानमा रहने त्यसपछि सम्बन्धित व्यक्तिलाई बुझाइने कलश ब्यवस्थापन समितिका एक संयोजक यमुना शर्माले जानकारी दिइन । कलश ब्यबस्थापनका लागि सृजन ताम्राकारसहित यमुना शर्मा, पुष्पलता पौडेल, अन्जिता श्रेष्ठ र कृष्णहरि घिमिरे गरी पञ्चजना संयोजक रहेको समिति गठन गरिएको छ ।
कलश यात्रापछि आयोजित औपचारिक कार्यक्रममा मेरील्याण्ड राज्यको बाल्टिमोर काउन्टीका प्रतिनिधिसहित नेपालबाट गएका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मेरिल्याण्डका महावाणिज्यदूत प्रेमराजा महत, महायज्ञका प्रमुख बाचक तथा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष डा.श्याम कार्की र उपाध्यक्ष क्रिस घिमिरेलगायतले मन्दिरको आफ्नै भवनको ऋण तिर्न, मूर्ति स्थापना गर्न, पार्किङ स्थल ब्यवस्थित गर्न, मूलगेट निर्माण गर्न, नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि पठनपाठन स्थल निर्माण गर्न, ज्येष्ठ नागरिकका लागि बस्ने स्थान बनाउन र खेल मैदान बनाउन साथै अन्य बाँकी काम गर्न रकम संकलन गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको बताए ।
महायज्ञ सञ्चालनसँगै त्यस क्षेत्रमा रहेका नेपाली युवा र बालबालिकाहरुलाई नेपाली परम्परा, धर्म र संस्कृतिका बारेमा समेत प्रत्यक्ष जानकारी पुयाउने लक्ष राखिएको छ । महायज्ञको पहिलो दिन बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिने घोषणा गरेका छन् । उनले यस अगाडि नै ५५ हजार डलर मन्दिरको लागि सहयोग गरेका थिए यसरी हेर्दा मन्दिरमा १ सय २५ हजार अमेरिकी डलर अर्थात सबै भन्दा ठूलो सहयोग गर्ने दाता समेत उनै केसी बनेका छन् । सप्ताह ज्ञानमहायज्ञमा अन्य सहयोगदाताहरुबाट पनि सहयोग संकलन सुरु भएको छ र यो क्रम बढ्दै जाने बिश्वास आयोजकको रहेको छ ।
पछिल्लो समय हिन्दु–बुद्ध मन्दिर, मेरिल्याण्ड एवं वरपर क्षेत्रमा बसोवास गर्ने र सनातन धर्ममा विश्वास राख्नेहरुकोे आस्थाको साझा थलोको रुपमा स्थापित भएको छ । मन्दिरको स्थापना र बिकाशको लागि सन् २०१७ मा त्यस क्षेत्रका ठुलो संख्यामा रहेका परोपकारीहरुले विभिन्न किसिमबाट सहयोग गर्दै आएका छन् । मन्दिरप्रति अगाध श्रद्धा भएका अनुयायीहरुले आफ्ना घर धितोमा राखेर समेत मन्दिरलाई सघाएको मन्दिर समितिका उपाध्यक्ष कृष घिमिरेले गुरुकुल खबरलाइ बताए । उनका अनुसार मन्दिरलाई थप ब्यबस्थित र सुन्बिधा सम्पन्न बनाउन रकम जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । यस पटक सञ्चालित महायज्ञमा पनि आफूले चाहेको अनुष्ठान गरेर धार्मिक लाभ लिन सकिने र व्यक्तिगत रुपमा साप्ताह लगाउन अवसर नपाएकाहरुका लागि समेत यस पटक व्यवस्था मिलाइएको बुझिएको छ ।
महायज्ञमा सहभागी हुन हुने भक्तजनहरुका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ ब्यबस्थापन समितिले प्रसाद बितरणको पनि प्रवन्ध गरेको छ । प्रसादको रुपमा सेल रोटी, खिर, पुरी तरकारी लगायतको परिकारको व्यवस्था गरिएको यमुना शर्माले जानकारी दिईन । महायज्ञ सफल पार्न बाल्टिमोरमा रहेका विभिन्न सामाज र समुदायहरुले समेत आआफ्नो किसिमले सहयोग गरेका छन् बाग्लुंग समाजले घर घरबाट बृद्ध र अशक्तहरु साथै सवारी साधन नभएकाहरुलाई मन्दिरसम्म लैजाने व्यवस्था गरेको छ भने म्याग्दी समाजले महायज्ञ स्थलमा जाने भक्तजनको सवारी साधनको पार्किंड ब्यवस्थापनको काम गरेको बुझिएको छ यसै गरी कास्की समाज, लम्जुंग समाज, गोर्खा समाजलगायत विभिन्न संस्थाले पनि विभिन्न जिम्मेवारी लिएर महायज्ञको लागि सहयोग गरेको छन् ।
पहिलोपटक श्रीमद्भागवत महायज्ञ सन् २०१७ मा गरिएको थियो। त्यस पटकको महायज्ञमा सहयोगदाताले प्रतिबद्दता गरेअनुसारको धेरै रकम उठिसकेको र केही अझै उठ्न बाँकी छ । कानुनी दृष्टिकोणले मन्दिर निर्माणमा समस्या नरहे पनि स्थानीय छिमेकीको असहयोगका कारण मन्दिरको विकास क्रममा लामो समय र रकम खर्च भएको मन्दिरका ट्रष्टी केशव शर्माले जानकारी दिए । अहिले भने मन्दिरमा आवश्यक पर्ने निर्माण कार्य गर्ने स्वीकृति प्राप्त भएको बुझिएको छ । मेरिल्याण्ड राज्यमा रहेका नौवटा मन्दिरमध्ये बाल्टिमोर काउन्टीको उक्त मन्दिरको विकासका लागि आर्थिक सहयोग गर्ने दातासगै धेरै समय दिने स्वयसेवकको साथ उत्तिकै मिलेको मन्दिरका पुजारी कृष्णहरि घिमिरेले बताए । उनका अनुसार सन् २०२३ यता भने मन्दिरमा आउने भक्तजनहरुको सहयोगबाट मन्दिरको खर्च चलेको छ ।