ताइवान भूकम्पमा परी ४ जनाको मृत्यु,  २६ वटा भवनमा क्षति(अपडेट) 

बुधबार, चैत २१, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् । यो  टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ । ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ । अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने  हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन् । अहिले त्यहाँ उद्धार कार्य जारी छ । ताइवान टेलिभिजन स्टेशनहरूले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थी स्कूल जाने दौडधुपमा थिए । 
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।
भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्। भूकम्पका कारण पहाडी भेगमा पहिरो गएको छ । ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन् । त्यहाँ उद्धारकार्य जारी छ ।
सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो ।

ह्वालिएन सहरमा भत्किएको घरबाहिर केही मानिस

भूकम्पले कहाँकहाँ हल्लायो
‘यो भूकम्प जमिननजिकै र जमिनको सतहबाट पनि नजिकै गयो। यो ताइवानभरि र अरू टापुमा पनि महसुस भयो...। यो २५ वर्षयताको सबैभन्दा शक्तिशाली भूकम्प हो’, ताइवानको भूकम्पमापन केन्द्रका निर्देशक वु चिएन फुले भने । स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो । त्यसपछि ४ म्याग्निट्यूड वा सोभन्दा माथिका अरू परकम्प मापन गरिएको अधिकारीहरूले जनाएका छन् । आवासीय भवनहरू भत्केका र मानिसहरूलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएको दृश्य देखिने भिडिओ स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन् । ताइवानमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको विवरण आएको छ । चीनको दक्षिणपूर्वी फुजिएन प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । आपत्कालीन सेवा प्रदान गर्ने ताइवानको सरकारी निकायका अनुसार ह्वालिएन सहरबाहिर अवस्थित एउटा राष्ट्रिय निकुञ्जमा एक जनाको गएको छ भने तीन जना घाइते भएका छन् ।
सो निकायका अनुसार ह्वालिएन सहरमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने केही भवन र सुरुङमार्गमा फसेका छन् ।
चिप निर्माण गर्ने कम्पनी टीएसएमसीले कर्मचारीको सुरक्षाका लागि आफ्ना कारखानाहरू खाली गराइएको जनाको छ। टीएसएमसीले एपल र एन्भिडिआजस्ता प्रविधि कम्पनीलाई सेमिकन्डक्टर आपूर्ति गर्छ ।

भूकम्पपछि सामान छरिएको कोठा

सुनामीको डर
भूकम्प गएपछि ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने डर उत्पन्न भएको थियो । स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी पनि जारी गरेका थिए । जापानको दक्षिणपश्चिमी क्षेत्रको ठूलो भागमा तीन मिटर अग्ला छाल भएको सुनामी आउन सक्ने चेतावनी त्यहाँको मौसमसम्बन्धी निकायले दिएको थियो । यद्यपि पछि चेतावनीको तह घटाउँदै उक्त निकायले स्थानीयवासीहरूलाई ‘त्यति नै शक्तिशाली परकम्प’ जान सक्ने भएकाले एक सातासम्म सतर्क रहन आग्रह गरेको छ । ताइवानमा भूकम्प गएको केही बेरमै फिलिपिन्सको भूकम्प मापन निकायले फिलिपिन्समा सुनामी आउन सक्ने चेतावनी जारी गरेको थियो। तर पछि उक्त चेतावनी स्थगित गरियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना जारी गर्दै सुनामीको खतरा टरेको जनाएको थियो ।

ताइवानमा पहाडी भेगमा पहिरो गएको छ

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार