सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । भूकम्पमा परेर अन्य आठ सय भन्दा बढी मानिस घाइते भएका छन् । ताइवानमा आज २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ । आज बिहान ७ः५८ मा गएको भूकम्पको केन्द्रविन्दु २३.८१ डिग्री उत्तर अक्षांश र १२१.७४ डिग्री पूर्वी देशान्तरमा १२ किलोमिटर गहिराइमा रहेको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । वेनलिङ्ग र रुइआन शहरका बासिन्दाहरूले खिचेका भिडियो फुटेजहरूले भूकम्पको समयमा घर वा कार्यालयमा डरलाग्दो गरी झूमर हल्लाएको दृश्यहरु खिचेका थिए । भूकम्प आएपछि विद्यालयका भवनहरूबाट विद्यार्थीहरूलाई व्यवस्थित रूपमा बाहिर निकालेको भिडियो पनि खिचिएको थियो । भूकम्पको बेला हुझाउ शहरको वक्सिङ जिल्ला र चाङ्सिङ काउन्टीमा पनि धक्का महसुश गरिएको थियो ।
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ । अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको छ भने आठ सयभन्दा बढी मानिस घाइते भएका छन् । क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङहरू भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिसहरू फसिरहेको बताइएको छ । तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन् । एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ । ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ । ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन्। त्यहाँ उद्धारकार्य जारी छ । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो । भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो। तर पछि चेतावनी फिर्ता गरियो । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ।
१०० भन्दा बढी परकम्प ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ । ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन् । जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन् । राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ । ‘यो भूकम्प जमिननजिकै र जमिनको सतहबाट पनि नजिकै गयो। यो ताइवानभरि र अरू टापुमा पनि महसुस भयो...। यो २५ वर्षयताको सबैभन्दा शक्तिशाली भूकम्प हो’, ताइवानको भूकम्प मापन केन्द्रका निर्देशक वु चिएन फुले भने ।
स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो । आवासीय भवनहरू भत्केका र मानिसहरूलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएको दृश्य देखिने भिडिओ स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन् । ताइवानमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको छ। चीनको दक्षिणपूर्वी फुजिएन प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । आपत्कालीन सेवा प्रदान गर्ने ताइवानको सरकारी निकायका अनुसार ह्वालिएन सहरबाहिर अवस्थित एउटा राष्ट्रिय निकुञ्जमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सो निकायका अनुसार ह्वालिएन सहरमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने केही भवन र सुरुङमार्गमा फसेका छन् । चिप निर्माण गर्ने कम्पनी टीएसएमसीले कर्मचारीको सुरक्षाका लागि आफ्ना कारखानाहरू खाली गराइएको जनाको छ। टीएसएमसीले एपल र एन्भिडिआजस्ता प्रविधि कम्पनीलाई सेमिकन्डक्टर आपूर्ति गर्छ । भूकम्प गएपछि ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने डर उत्पन्न भएको थियो। स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी पनि जारी गरेका थिए ।
जापानको दक्षिणपश्चिमी क्षेत्रको ठूलो भागमा तीन मिटर अग्ला छाल भएको सुनामी आउन सक्ने चेतावनी त्यहाँको मौसमसम्बन्धी निकायले दिएको थियो । यद्यपि पछि चेतावनीको तह घटाउँदै उक्त निकायले स्थानीयवासीहरूलाई ूत्यति नै शक्तिशाली परकम्पू जान सक्ने भएकाले एक सातासम्म सतर्क रहन आग्रह गरेको छ । ताइवानमा भूकम्प गएको केही बेरमै फिलिपिन्सको भूकम्प मापन निकायले फिलिपिन्समा सुनामी आउन सक्ने चेतावनी जारी गरेको थियो। तर पछि उक्त चेतावनी स्थगित गरियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना जारी गर्दै सुनामीको खतरा टरेको जनाएको थियो ।