सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण

बिहीबार, चैत २२, २०८०

काठमाडौं । नेपाल प्रेस युनियनले सदस्यताको टुंगो लगाएर मात्र अधिवेशनका प्रक्रिया अघि बढाउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ । प्रेस युनियनले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई बिहीवार ध्यानाकर्षण पत्र बुझाउँदै सदस्यताको नामावली फाइनल गरेर मात्र जिल्ला, प्रतिष्ठान, एसोसिएट, प्रदेश र केन्द्रको अधिवेशनको कार्यतालिका अघि बढाउन आग्रह गरेको हो ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा हस्ताक्षर गरी महासंघका अध्यक्ष पोखरेललाई बुझाएको ध्यानाकर्षण पत्रमा पत्रकार महासंघले अघि बढाएको सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग रहेको बताउँदै पत्रकार महासंघको विधानलाई पनि स्मरण गराएको छ ।
मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठकले सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र सबै तहका अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको विधान २०६० ९पाचौं संशोधन २०७५० को धारा ५ को उपधारा ८मा भएको सदस्यता प्राप्त गर्ने कार्यविधि अनुसार ‘नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य गर्न समेत स्मरण गराउन गराएको हो । महासंघले सबै तहका अधिवेशनको मिति तय गर्दा विधानमा भएको व्यवस्थालाई ध्यान नदिएको युनियनले जनाएको छ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने समेत चेतावनी दिएको छ ।
पत्र बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले युनियनले उठाएको विषयमा आँफू गम्भीर रहेको बताए । पोखरेलले पत्रकार पेशागत सम्बद्ध संस्थाहरुसँग छलफल गरेर अघि बढ्ने बताए । कार्यक्रममा नेपाल प्रेस युयिननका उपाध्यक्ष नकुल अर्यालले सदस्यता नटुंग्याई अधिवेशन गर्ने प्रयत्न नगर्न आग्रह गरे । कार्यक्रमको सञ्चालन युनियनका सचिव केदार दाहालले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार