जो दैनिक सयौँलाई हजारौँ प्रश्नको उत्तर दिन्छन् 

सोमबार, जेठ १०, २०७८

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई १७ महिना अघि अन्तर्वार्ताको क्रममा भेटेकी थिएँ । त्यतिबेला उनले भनेका थिए, ‘चीनमा एउटा भाइरस देखा परेको छ, त्यसले दुख देला जस्तो छ ’ अनुसन्धानमा रुचि राख्ने ती डाक्टरले त्यसो भनेको दुई चार दिनपछि एउटा राष्ट्रिय दैनिकले त्यो भाइरस (कोरोना) को बारेमा पहिलो पृष्ठमै समाचार छाप्यो । सामाचार छापिएको केही दिनपछि , टेकु अस्पतालमा एक जना बिरामी आए । बिरामीमा देखिएको लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो थियो । ती बिरामी चीनबाटै आएका थिए । पुनका लागि लक्षण र बिरामी आएको ठाउँ कोरोना नै हो भन्नका लागि मुख्य आधार थियो । त्यतिबेला उनले ट्वीटरमा पनि यस्तो लेखेका थिए रे । ‘ नेपालमा देखिएको यो केस संसारभरको तेस्रो हुन सक्छ ।’ त्यतिबेला चीनमा दुईवटा केस देखिइसकेको थियो । दिनैपिच्छे चीनबाट आएका व्यापारी र विद्यार्थी टेकु अस्पतालमा परामर्शको आउन थाले । ती बिरामी त्रसित देखिन्थे । उनीहरु निराश लाग्थे । फ्रान्सबाट आएकी विद्यार्थीमा कोरोना प्रमाणित भएपछि यो भाइरस नेपालमा पनि भित्रिएको आधिकारिक पुष्टि भएको थियो । 
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर अहिले टेकु अस्पतालको ज्वरो क्लिनिकमा भेटिन्छन् । उनको नेतृत्वको त्यो क्लिनिकमा दैनिक सयौँ बिरामी हजारौ प्रश्न बोकेर आउँछन् । ती प्रश्नको चित्तबुझ्दो जवाफ दिनु त छँदैछ , बिरामीको अवस्था हेरेर उपचारको ठीक प्रक्रिया सुरु गर्न पाउँदा डा.पुनको मन फुरुङ्ग हुन्छ । ज्वरो क्लिनिकमा जति बिरामी आउँछन् , त्यो ठूलो संख्या हो । ठूलो संख्यालाई समयमै ठीक कुरा बताउनु भनेको उनीहरुलाई इमरजेन्सी र आइसियूमा जानबाट रोक्नु हो । यो नै उनको अहिलेको उद्देश्य हो । भन्छन् , ‘आइसियूमा पुग्ने भनेको संक्रमित मध्येको तीन ÷चार प्रतिशत मात्रै हो, आइसियू र इमरजेन्सी जानबाट रोक्न आफ्नो नेतृत्वको समूह अर्जुनदृष्टिसहित काम गरिरहेको छ ।’ डा. पुन दिनभर संक्रमित बिरामीकै वरिपरि हुन्छन् । क्लिनिकमा आउने बिरामी उनलाई कोरोनाको बारेमा अरुले भनेको कुरा सुनाउँछन् । सामाजिक संजालमा भेटिएका भ्रम मेटाउन प्रश्न गर्छन् । ती भ्रम र जिज्ञासा मेटाउन पाउँदा डा. पुनलाई अभूतपूर्व खुशी मिल्छ । आफ्नो कुरा सुनेपछि बिरामीको अनुहारमा देखिने उज्यालो र सन्तुष्टिको भावले शेरबहादुरलाई अलौकिक आनन्द दिलाउँछ । उनी बिरामीका कुरा धैर्य गरेर सुन्छन् । रोगका बारेमा बताउँछन् । कुराकानीकै क्रममा उनले भने ‘ बिरामीको कुरा नसुन्नु भनेको बिरामीप्रति अन्याय गर्नु हो, उनीहरुको विश्वासमा ठेस पु¥याउनु हो’ उनले यसो भनिरहँदा मैले त्यो अन्तर्वार्ताको बखत सम्झिएँ । त्यतिबेला ओपिडिमा भेटिएका उनको बिरामीलाई कुरा बुझाउने शैलीप्रति आकर्षित भएकी थिएँ । धेरै दिनसम्म डा पुनले बिरामीलाई गरेको व्यवहार मेरो मस्तिष्कमा झल्झल्ती आइरहेको थियो । र, मनमा ‘सबै डाक्टर यस्तै भए ’ भावको आवाज ठोकिएको भान भइरहेको थियो । क्लिनिकमा आउने बिरामी राम्रै कुरा गरिरहेका हुन्छन् । ‘ज्वारो आयो,घाँटी दुख्यो,खोकी लाग्योे’भन्छन् । आफ्नो वृतान्त सुनाउँछन् । कोरोनासँग लक्षण मिलेका ती बिरामीको अक्सिजन लेभल नाप्दा सत्तरी, पचहत्तर पुगिसकेको हुन्छ । यसलाई उनी ‘क्रिटिकल टाइम’भन्छन् । यस्ता बिरामीलाई समयमै ठीक उपचार दिलाउनु उनको धेय र उद्देश्य हो । 

बानी सुधारौं 
यो महामारी नेपालमा अहिले उत्कर्षमा पुगेको छ । यो महामारीका लागि अहिले देखिएको अक्सिजन अभाव सबैभन्दा ठूलो चुनौती हो । अक्सिजनको अभाव नहुने हो भने धेरैको जीवन बचाउन सकिने डा.शेरबहादुर बताउँछन् । अक्सिजनको माग बढी र आपूर्ति कम भएकाले यस्तो अवस्था आएको छ । कोरोना नियन्त्रणको लागि गर्नुपर्ने मुख्य काम पिसीआर परीक्षण, आइसोलेन व्यवस्था , कन्ट्याक ट्रेसिङ, खोप व्यवस्थापन महत्वपूर्ण हुन् । यिनको व्यवस्थापनको मुख्य जिम्मेवारी राज्य हो । कोरोना नियन्त्रणका लागि नागरिकको भूमिका पनि त्यतिकै महत्वपूर्ण बताउँछन् डा. पुन । जनता वफादार भएर आफ्नो बानी र व्यवहार सुधार गरे कोरोना नियन्त्रण संभव बताउँछन् उनी । भन्छन् ‘लुकीलुकी साथीभाइ भेटघाट गर्ने, सभासम्मेलन, उद्घाटन, गोष्ठी गर्नु भएन । ’ कोरोना नियन्त्रण गर्न बानी र व्यवहार परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । 
 अनुसन्धानमा रमाउने डाक्टर 
डा.पुन लेखपढ गर्न सबै थोक बिर्सिन्छन् । सानोतिनो प्रयासले उनलाई बिथोल्न सक्दैन । बिहान ६ बजेदेखि रातको एक दुई बजेसम्म पनि उनी विषयमा घोत्लिन सक्छन् । हिँड्दै गर्दा कुनै विषय मनमा आए,त्यही उभिएर टिपोट गर्न थाल्छन् । नमूना संकलन गर्छन् । 
अनुुसन्धान नहुँदा सरुवा रोगका बिरामी मर्कामा परेको बताउँछन् उनी । सरुवा रोगको बारेमा अध्ययन अनुसन्धान नभएका कारण एउटै रोगका लागि धेरैवटा एन्टिवायोटिक प्रयोग भइरहेको छ । जसले बिरामीको शारीरिक र आर्थिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ । 
झण्डै दुई दशकअघि जतिबेला डा. पुन युवा मेडिकल अफिसर थिए त्यतिबेला अस्पतालमा इन्सेफलाइटिसले एक दिनमा तीन–चारजनाको मृत्यु हुन्थ्यो । रेबिज लागेका बिरामी पनि त्यत्तिकै आउँथे । हैजा र झाडापखालाका बिरामीलाई पन्छाउँदै हिँड्नु पथ्र्यो । अहिले अवस्था केही बदलिएको छ तर बुझ्न र बुझाउन धेरै बाँकी भएको उनको अनुभव छ । 

जसले सरुवा रोग छाने 
बेलायत सरकारको छात्रवृत्तिमा रुसबाट पढेका डा. पुनलाई सबैले चर्चा गर्ने विषयमा रुचि जागेन । कोही सर्जरीको क्षेत्रमा जाने कुरा गर्थे, कसैको कार्डियोलोजीमा ध्यान थियो, कोही बालरोग त कोही महिला तथा प्रजनन् विशेषज्ञताको कुरा गर्थे । उनलाई  धेरै महत्व नदिएको विषयले तान्यो, जहाँ उनले काम गर्नसक्ने अपार सम्भावना देखे । दक्ष व्यक्तिको आवश्यकता महसुस गरे । चिकित्सक र अनुसन्धानकर्ता दुवै हुँदा काम गर्न सजिलो हुने अनुभव उनीसँग छन् ।  चिकित्सक सँगसँगै अनुसन्धानकर्ता हुँदा त्यसको प्रभाव छिट्टै पर्ने बताउँछन् । त्यसो त एउटा व्यक्ति चिकित्सक र अनुसन्धानकर्ता हुनु सजिलो छैन । यो नेपालमा मात्रै होइन, विदेशमा समेत त्यति भेटिँदैन, एउटै व्यक्ति डाक्टर र अनुसन्धानकर्ता । दैनिक बिरामी भेट्दा उनले अनुसन्धानका विषय पाउँछन् । अनुसन्धानबाट पत्ता लागेका विषय बिरामीमा प्रयोग गर्छन् । 
पीएचडीका लागि उनी जापान पुगे । छात्रवृत्ति नै पाएका थिए पिएचडीमा पनि । पीएचडी सकेपछि डा.पुनका सामु अर्को प्रस्ताव आयो, त्यो थियो, अर्को कोर्सको । जापानमा त्यो कोर्स पूरा परेको प्रमाणपत्रले उनलाई अन्तर्राष्ट्रिय तहमा कामको प्रस्ताव निश्चित थियो । तर, उनको मन त्यता लागेन । नेपालकै समस्या भिज्ने, रमाउने र नेपालका बिरामीको सेवामा समर्पित हुने निर्णय गरे । जापानको फेलोसिप कोर्सको प्रस्ताव स्वीकार गरेनन् । अझैं पनि उनका साथीहरू उनलाई भन्छन् ‘तिमीले त्यस्तो राम्रो फेलोसिप छोड्यौं है,’ तर, उनलाई यसमा उनलाई पछुतो छैन । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार