सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा | बागमती प्रदेशमा लागूऔषध कारोबारको विकराल समस्या बढ्दो छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले प्रदेशभरबाट ४ हजार ९ सय ५४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ भने कारोबारमा संलग्न १ हजार ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्लागत तथ्यांकलाई हेर्दा मकवानपुर जिल्ला लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा उदाउँदै गएको छ। यस जिल्लाबाटै चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ३ सय ९५ केजी लागूऔषध बरामद भएको छ भने १ सय ९९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसबाट स्पष्ट देखिन्छ कि मकवानपुर प्रदेशभरको सबभन्दा ठूलो लागूऔषध कारोबारको केन्द्र बनेको छ । लागूऔषध कारोबारमा सबैभन्दा सक्रिय अर्को जिल्लाको रुपमा चितवन देखिएको छ। चितवनबाट फागुनसम्म १ हजार १ सय १७ केजी लागूऔषध बरामद भएको छ भने १ सय ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी, धादिङ जिल्लाबाट ७ सय ६० केजी लागूऔषध बरामद भई ३५ जना कारोबारी पक्राउ परेका छन् । काठमाडौंबाट प्रहरीले १ सय ६३ केजी लागूऔषध मात्र बरामद गर्न सफल भए पनि ५१६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट केही कोकिन र पोल्याण्ड लागूऔषध पनि बरामद गरिएको छ । काभ्रे र भक्तपुरमा क्रमशः ३२० र १ केजी लागूऔषध बरामद गरिएको छ भने ३१ र ४७ जना पक्राउ परेका छन्। सिन्धुली र ललितपुरमा क्रमशः १६३ र ३१ केजी लागूऔषध बरामद भई २१ र ९४ जना पक्राउ परेका छन्। भक्तपुर र ललितपुरमा पनि केही मात्रामा पोल्याण्ड बरामद गरिएको छ । रामेछापबाट भने १ केजी लागूऔषध र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवा र नुवाकोटमा लागूऔषधको कारोबार भए पनि त्यहाँ यसको मात्रा भने ग्राममा गणना छ। दोलखा र सिन्धुपाल्चोकमा भने उक्त संख्या सुन्य छ ।
अन्य प्रदेशको तुलनामा बागमतीमा लागूऔषधको समस्या बढी देखिएको कोशी, मधेश, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका तथ्यांकले देखाउँछ। जसअनुसार कोशीमा ४ हजार ३ सय ५२ केजी, मधेशमा ४ हजार ३ सय ३१ केजी, सुदूरपश्चिममा १ सय ६३ केजी, गण्डकीमा १ सय १७ केजी, लुम्बिनीमा १ सय ११ केजी र कर्णालीमा १४ केजीमात्र लागूऔषध बरामद भएको छ। पछिल्लो ५ बर्षको तथ्यांक हेर्दा पनि बागमती प्रदेश अगाडी नै देखिन्छ (५ वर्षमा कारोबारमा संलग्न ६ हजार २ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा..) । यसरी बागमती प्रदेशभित्र विशेषगरी मकवानपुर, चितवन र धादिङलगायतका केही जिल्लाहरू लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा बनेका छन्। यस प्रदेशभित्र मात्रै पनि बर्सेनि लागूऔषध कारोबारको मात्रा बढ्दै गएको देखिन्छ।