राजनीतिसँगै कृषि कर्ममा वाइसीएल नेता सन्तोष

मंगलबार, जेठ ११, २०७८
मयुर प्लाई
Global Ime Bank

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल)का जिल्ला इन्चार्ज सन्तोष पनेरु यतिबेला आफ्नै कृषि फार्ममा तल्लीन छन् । माडी नगरपालिका–५ छरछरेमा उहाँले माडी सामूहिक बहुउद्देश्यीय एग्रो एण्ड भेट फार्म नामक संस्था सञ्चालन गरिरहेका छन् । सोही फार्मको सञ्चालकका रूपमा पनेरु अहिले कृषि कर्ममा लागेका छन् । उनीसँगै राजनीति गरिरहेका अन्य तीन व्यक्तिको साझा लगानीमा उनले फार्म सञ्चालनमा ल्याएका हुन् ।
अनेरास्ववियु (क्रान्तिकारी)का प्रदेश सहसंयोजक सुरजसिंह ठकुरी, वाइसीएल माडी इन्चार्ज हरिकृष्ण लामिछाने र स्थानीयवासी सन्देश पनेरुको संयुक्त लगानीमा अहिले २५ कठ्ठा क्षेत्रफलमा माडीको सदरमुकाम वसन्तपुरबाट करिब पाँच किलोमिटर टाढा फार्म सञ्चालनमा ल्याइएको छ । फार्ममा हाँस, स्थानीय जातका कुखुरा र बङ्गुरपालन गरिएको छ । करिब रु ६५ लाखको लागतमा सञ्चालन गरिएको सो फार्ममा अहिले बेच्ने समयका हाँस १००, हाँसका चल्ला एक हजार, स्थानीय जातका कुखुरा ६०० र बङ्गुर माउ बच्चा गरेर १०० वटा रहेका छन् । आफ्नो राजनीतिक यात्रासँगै व्यावसायिक बन्नुपर्ने देखेर आफूले यो व्यवसाय शुरु गरेको उनले बताए ।
पछिल्लो समयमा राजनीतिकर्मीलाई आर्थिक समस्या देखिने र भ्रष्टाचार बढ्ने भएकाले यसको न्यूनीकरणका लागि व्यावसायिकरूपमा काम गर्न सकिन्छ भन्ने देखाउन आफूले कृषि व्यवसाय शुरु गरेको उनले बताए । विसं २०६० मा माडी माविबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका पनेरु पछिल्लो समयमा युवापुस्तामा राजनीतिप्रतिको वितृष्णा अन्त्य गर्दै व्यावसायिकरूपमा लागेर पनि राजनीति गर्न सकिन्छ भन्ने देखाउनका लागि आफूले माडी आएर काम शुरु गरेको बताउँछन् । उनले भने, ‘हप्तामा दुई दिन श्रम गर्छु । पाँच दिन राजनीतिक कार्यक्रममा सहभागी बन्छु ।’ यहाँका उत्पादनले बजारको माग थेग्न नसकेपछि यस फार्मको क्षमता वृद्धि गर्न लागेको उहाँको भनाइ छ । रोजगारीको सिलसिलामा विदेशिने युवालाई यहीँ रोजगारी दिने र व्यावसायिक बनाउने उद्देश्यका साथ लागिपरेको पनेरु बताउँछन् । यो फार्मले अहिले तीनवटा कृषक समूहसँग सहकार्य गरेर बङ्गुरपालनको कामसमेत विस्तार गर्दै छ । स्थानीय युवालाई साथमा लिएर काम गरे यही केही गर्न सकिने उनको बुझाइ छ । फार्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।–रासस

 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार