पाटन अस्पतालमा १५ दिनभित्रै अक्सिजन प्लान्ट

एक दिनमा २७० सिलिण्डर अक्सिनन भर्न सकिने
बुधबार, जेठ १२, २०७८

ललितपुर । पाटन अस्पतालमा १५ दिनभित्र अक्सिजन प्लान्ट जडान हुने भएको छ । ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा.रवि शाक्यले उक्त जानकारी दिएका हुन् । उनले भने, ‘सामानहरु आउँदैछन्, ‘यही अवस्था रहे, १५ दिनभित्र अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन्छ ।’ यो अक्सिजन प्लान्टबाट २४ घण्टामा दुई सय ७० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । डा.शाक्यले भने, ‘यो अक्सिजन प्लान्ट नेपालमा भएका अन्य प्लान्ट भन्दा धेरै क्षमताको हो, प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेपछि कोभिडका बिरामीको उपचारको लागि धेरै सहज हुनेछ ।’
ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा प्लान्ट जडानका लागि पाँच महिनाअघि एक करोड रुपैयाँ उपलव्ध गराएको थियो ।  पाटन अस्पतालले महानगर र अन्य संस्थाको सहयोगलाई समेत समेटेर धेरै क्षमताको प्लान्ट जडान गरेको उनले स्पष्ट पारे । टेण्डरलगायतका अन्य प्रक्रिया पुरा गर्दा समय लाग्दा जडान कार्यमा केही ढिलाइ भएको हो ।


अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएकाले पाटन अस्पतालले अक्सिजन सिलिण्डर खरीद गरेर कोभिड बिरामीको उपचार गरिरहेको छ । ‘लिक्वीड अक्सिजन आएकाले अब केही दिनलाई अलिकति सहज हुन्छ, उनले भने, ‘ अक्सिजन कन्सन्ट्रेटर पनि पनि पाएका छौंं ।’ ललितपुर महानगरले दीर्घकालिन सोचसहित अक्सिजन प्लान्ट जडानका लागि सहयोग गर्नु सह्रानीय भएको उनले बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताए । उनले भने, ‘हामी एकदमै खुशी छौं १५ दिनभित्र प्लान्ट जडान हुने कुराले । जतिसक्दो छिटो जडान होस् ।’
कोभिडका बिरामीको उपचारमा अब्बल काम गरेको पाटन अस्पताललाई प्लान्ट जडानका लागि महानगरले दीर्घकालिन सोच राखेर सहयोग गरेको उनको धारणा छ । कार्यक्रममा महानगरकी उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल तथा वडाअध्यक्षहरुको उपस्थिति थियो ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार