सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् । उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् । गोरखा भूकम्पको नवौं स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै पौडेलले भूकम्प र त्यसपछिका परकम्पमा परी ज्यान गुमाउने सबैमा श्रद्धासुमन व्यक्त गरे । उनले जोखिमको प्रभावकारी न्यूनीकरण गर्नुपर्नेमा समेत जोड दिए । प्राकृतिक विपद् र उच्च भूकम्पीय जोखिममा नेपाल रहेको स्मरण गराउँदै उनले बढ्दो सहरीकरणका कारण भूकम्पको जोखिम बढ्दै गएको बताएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’
पौडेलले भूकम्पबाट जोगिन सुरक्षा उपायको अबलम्बन र जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । ‘नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपायहरू र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी छ । म यसका लागि सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउन चाहन्छु,’ जारी विज्ञप्तिमा भनिएको छ । पौडेलले भूकम्प जस्तो प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिएर पूर्वतयारी र चुस्त व्यवस्थापन बनाउनुपर्नेमा जोड दिएका छन् ।