पहिले मान्छे अनि पत्रकार

सोमबार, वैशाख १७, २०८१

गएको बिहीबार । समय त्यस्तै २ः३० जति भएको हुँदो हो ।  ललितपुरको नख्खुमा रहेको वैष्णोदेवी मन्दिर हुँदै सुन्दरढोका साथी सेवाको अफिस पुगेँ । त्यहाँ जानुको उद्देश्य रिपोर्टिङ थियो । कार्यक्रम थियो, ललितपुर महानगरले भूकम्पमा परेर गोडा गुमाएकालाई कृत्रिम गोडाका लागि चेक हस्तान्तरण । कार्यक्रम स्थलमा जाने वित्तिकै मन भक्कानियो । मन भक्कानिनुको दुई कारण थिए । पहिलो, सँगैको मेचमा बसेका बालकको अवोधपन । दोस्रो विकास अधिकारीको सम्झना । खत्री थरका ती बालक ११ वर्षका रहेछन् । उनले गोडाको उपचार गराइरहेको बताए । मैले उनलाई अन्तर्वार्ताको शैलीमा भन्दा पनि आत्मीय भावमा केही कुरा सोधेँ । जवाफ दिने उनको त्यो शैलीमा, मैले आफ्नै छोरा भेटेँ । उनले भने अनुसार, गोडा थोरै छोटो छ । व्यायाम गरेर त्यसको उपचार भइरहेको छ । रिपोर्टिङका क्रममा फरक फरक अवस्था र समस्यामा रहेमा पात्र त भेटिन्छन् । पेशाको प्रकृति अनुसार यो स्वभाविक हो । बिरामी, दुखी, गरीब, समस्यामा परेका ती पात्र भेटिदाँ मानवीय रुपमा उ संवेदनशील हुन्छ, विषय र परिस्थित अनुसार । किन कि उ मान्छे हो । तर, मात्र कुरा के हो भने यी कारणले सत्य, निष्पक्ष सूचना संकलन गर्ने काम प्रभावित हुनु हुँदैन भन्ने मान्यता हो । यो मान्यतामा अडिक भएर पत्रकारले आफ्नो जिम्मेवारी पूरा गर्छ । तर, बिहीबार मैले फरक महसुस गरेँ । त्यो कार्यक्रममा म पत्रकार कम, मान्छे धेरै भएछु । ह्वीलचियरमा बसेका प्रौढ, ज्येष्ठ नागरिक, बालबालिका देख्दा मन झन भक्कानियो । ती बालबालिकाका अभिभावक सम्झेँ । यस्तै यस्तै कुराले मन उदास भइरहेको थियो । ती बालक (खत्री) मसँग टाँसिन आइपुगे । त्यसपछि मैले आँशु थाम्न सकिन ।

WhatsApp-Image-2024-04-28-at-20.17.38-1714360459.jpeg
ड्यासमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, प्रशासन प्रमुख देव गुरागाइँलगायत हुनुहुन्थ्यो । दर्शकदीर्घामा बसेकी मैले शीर ठाडो बनाउन सकिन । भुइँमा हेर्दै, टिलपिल भएको आँखासहित म बाहिरिएँ । औपचारिक कार्यक्रम थोरै अबेर सुरु भयो । आँशु लुकाउन भित्र बाहिर गरिरहँदा विकास अधिकारीले ललितपुर महानगरका टिमलाई हेरिरहेको अनुभव भयो । सुन्दरढोका साथी सेवासँग म कोभिडको बेलामा नजिक भएको थिएँ । विकास अधिकारी संस्थाका अध्यक्ष हुनुहुन्थ्यो । सुन्दर ढोका साथी सेवाकी हालकी कार्यकारी निर्देशक विजेता र विकास अधिकारीले ललितपुरमा कोरोना नियन्त्रणकै लागि पु¥याउनु भएको कामको दृश्य मेरो मानसपटलमा एकाएक आयो । ज्यापु समाज ललितपुरले बागडोलमा बनाएको आइसोलेसन सेन्टरबाट कोरोना निको भएका बिरामीलाई विदा गर्न आयोजित कार्यक्रममा विकास अधिकारीसँग अन्तरंग कुरा भएको थियो । विकास सरको भौतिक शरीर अहिले नभए पनि दिवंगत आत्माले केही भनिरहेको महसुस गरेँ मैले । 
अपाङगताको क्षेत्रमा उहाँले थाल्नु भएको अभियानमा महानगरले एउटा इँटा थप्ने कार्यक्रम थियो बिहीबारको । आफ्नो अभियानमा साथ दिएकोमा शायद उहाँले हामी सबैलाई धन्यवाद भनिरहनु भएको थियो । भन्छन्, ‘भगवानले पनि पृथ्वीका राम्रा मान्छेलाई छिटो बोलाउँछन् ।’ यो पटक सुन्दरढोकामा पुग्दा मैले भगवानलाई प्रश्न गरेँ, ‘भगवान सबै राम्रा मान्छेलाई तपाईंले विकास सरलाई जस्तै गरी छिटो बोलाउनु भयो भने, यो पृथ्वीको अवस्था कस्तो हुन्छ होला ?’ संसारमा निर्विकल्प भन्ने कुरा केही हुँदैन । यो कुरालाई संस्थाले बुझेको भान भयो ।  विजेता म्याडमले विकास सरले निर्वाह गर्नुभएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहनु भएको छ अहिले । विजेता म्याडम सुन्दरढोकामा रहेका किशोरीहरूलाई ‘काउन्सिलिङ’ पनि गरिरहनु भएको थियो । त्यहाँकी एक किशोरीलाई भन्दै हुनुहुन्थ्यो, ‘हामी कफी पिउन जाउँ है शनिबार, अरु के के खाने त्यो पनि सम्झनु हैैैं,’ शायद ती किशोरी ट्रमामा थिइन् । जीवनसाथीसँगको वियोग । संस्थाको जिम्मेवारी ।

WhatsApp-Image-2024-04-28-at-20.18.57-1714360459.jpeg
यी सबै कुराको व्यवस्थापन कुशलतापूर्वक गर्नु सामान्य कुरा होइन । यो असामान्य काम गरिनु भएकी विजेता म्याड वास्तवमा कदरयोग्य पात्र हुनुहुन्छ । संस्थामा उहाँको सक्रियता देख्दा लाग्थ्यो, उहाँले अरु कसैलाई पनि विकास सरको रिक्तता महसुस हुन दिनु भएको थिएन ।  कृत्रिम गोडा वापतको चेक हस्तान्तरण भयो । मन्तव्य दिन दृष्टिविहीन एमसीले अतिथिहरूलाई बोलाउनुभयो ।  पालो आयो ललितपुर महानगरका सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनको । उहाँले पनि आफूलाई थाम्न सक्नु भएन भावविहल हुनुभयो, विकास अधिकारी सम्झेर । भाषणको बीचमा झण्डै एक मिनेट गला अबरुद्ध भयो उहाँको । अबरुद्ध भएको गलालाई सम्हाल्दै राजु सरले भन्नुभयो, ‘कोरोनाको बेला विकासले हामीलाई त्यो तरिकाले सहयोग नगरेको भए, महानगरमा कोरोना नियन्त्रणमा सफल हुन सक्दैन थियो ।’ प्रवक्ताले भाषण गरिरहँदा मैले ड्यासमा बसेका सबैको अनुहार पढ्ने धृष्टता गरेँ । सबैको अनुहार भावुक थियो । सबैभन्दा भावुक नगरप्रमुख हुनुहुन्थ्यो । त्यो भावुकता कतै भाषण पो पोखिने हो कि ? म शसंकित थिएँ । तर, उहाँले आफूलाई सम्हाल्नु भयो । शायद अभिभावकको जिम्मेवारी पूरा गर्दा सार्वजनिक रुपमा भावविह्वाल हुन मिल्दैन वा मन सम्हाल्नुपर्छ । उहाँले आफूलाई सम्हाल्ने जो कोहीले पनि सजिलै महसुस गर्न सक्थ्यो । कार्यक्रमको बिट मारेर आ आफ्नो गन्तव्यमा लाग्दै गर्दा मैले फेरि आफूले आफैंलाई भनेँ, म यो कार्यक्रममा मान्छे धेरै, पत्रकार कम भएछु । महानगर आफ्नो सारथी बनेकोमा गोडा गुमाएहरू निकै खुशी थिए । कृत्रिम गोडा पाउने ती विद्यार्थीको अनुहारमा देखिएको खुशी सम्झदैं घर फर्केँ । बाटोभरि मनमा अनेक तरंगहरू आए । मैले पनि ७२ साल वैशाख १२ गतेको भूकम्पमा घरलाई साक्षी राखेर खुमलटारको चौरमा पालमुनि लालाबालासहित बसेको सम्झेर म गह्रांै भयो । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार