सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ । सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरू पनि जलेर नष्ट भएका छन् । यी स्थानहरूमा भने आगो नियन्त्रणमा आइसकेको छ । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ । ६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आईनसकेको आचार्यले बताईन् । डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भैरहेको उपसचिव आचार्यले नेपाल न्यूज बैंकसँग बताईन् ।
आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्न माओवादी प्रवक्ताकाे अनुरोध नेकपा माओवादी केन्द्रले आगलागी एवं डढेलो जस्तो चुनौतीपूर्ण अवस्थामा उद्धार र सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भन्दै दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन पनि पालिकाहरुलाई अपिल गरेका छन् ।
‘यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ । विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौं । यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएकाे छ । त्यसैगरी, विपद्जन्य अवस्थामा गर्नुपर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यसका साथै, विपद् जोखिमहरूबारे जानकारी लिन, त्यस्ता विपद्का जोखिमहरू न्यूनीकरण गर्न तथा तिनको व्यवस्थापनका उपाहरुबारे सचेत रही आवश्यक परेका बेला अग्रसर हुन सबै नागरिकलाई पनि अनुरोध गरेका छन् । गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ, हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको छ ।