सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्गले काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित कोटेश्वर, त्रिदेवीनगर हुँदै कोटदेवी मन्दिरसम्मको सडकको स्थलगत निरीक्षण गरी उक्त सडक चौडा गर्न तत्कालै पहल गर्ने आश्वासन दिएका छन् । मन्त्री तामाङ्गले सो क्षेत्रको मंगलबार साँझ स्थलगत निरीक्षण गरेपछि स्थानीय बासिन्दालाई सो आश्वासन दिएका हुन । मन्त्री तामाङ्गको स्थलगत निरीक्षण क्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, बागमती प्रदेशका सांसद सुनिल केसी तथा माओवादी केन्द्रका स्थानीय नेताहरू रञ्जना पौडेल, रामसुन्दर श्रेष्ठ तथा कार्यकर्ताको साथै दिपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसीलगायत पदाधिकारीको उपस्थिति थियो ।
त्रिदेवीनगरमा सो मन्त्रालय अन्तर्गत हवाई विभागको स्वामित्वको ४५० रोपनी जग्गाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारसँग सम्बन्धित उपकरण ‘भिओर डिएमई’ रहेको छ । विगत केही वर्षदेखि सो क्षेत्रको वरिपरी अग्लो तारजाली लगाएर नेपाली सेनाको ब्रिजिङ्ग शाखाले सुरक्षा दिँदै आएको छ भने त्यस जग्गाको पुर्व, पश्चिम र दक्षिणतर्फ १३ फिट चौडा पीच सडक रहेको छ । बैशाख ९ गते साँझ सो जग्गाभित्रको नर्कटघारीमा आगो लाग्दा काठमाडौ, ललितपुर र भक्तपुरका ४ वटा दमकलले एक घण्टा लगाएर निभाएका थिए । तीमध्येको एउटा दमकलमा पानी सकिएर भर्न जाने क्रममा साँघुरो सडक र घुम्ती नपुगेपछि ऐश्वर्यमार्गको मोडबाट दमकल निस्किन सकेको थिएन । यस्तो समस्या आएपछि बागमती प्रदेशका सांसद सुनिल केसीले तत्कालैदेखि सो सडक विस्तार गर्न पहल गर्ने बताएका थिए । त्यसको भोलिपल्टदेखि सो सडक चौडा गर्ने विषयमा टोलवासीको हस्ताक्षर संकलन कार्य सुरु गरिएको थियो । अरनिको राजमार्गको कोटेश्वरको दक्षिण तथा कोटेश्वर—चक्रपथ खण्डको पुर्वतिर रहेको टोल, त्रिदेवीनगरस्थित ट्राफिक प्रहरी प्रभागको पश्चिमदेखि कोटदेवी मन्दिरसम्मको करिब ५ सय मिटर लामो ऐश्वर्यमार्ग सडकलाई १३ फिटबाट विस्तार गरी २० फिट चौडा गर्ने विषयमा त्रिदेवीनगर, सूर्यकोट र नरेफाँटका बासिन्दाले केही दिनअघि मन्त्रालयमै पुगेर मन्त्रीलाई संयुक्त निवेदन दिएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल र पुर्वमन्त्री शशी श्रेष्ठको अगुवाई तथा बागमती प्रदेशका सांसद सुनिल केसीलगायत टोलवासीको सहभागितामा सो सडक विस्तार गर्ने विषयमा ती तीनवटा टोलका बासिन्दाको संयुक्त हस्ताक्षर संकलन गरी मन्त्री तामाङ्गलाई बुझाएका थिए । ‘भिओर डिएमई’को सुरक्षा संवेदशनशिलतालाई मध्यनजर गर्दै आगलागी जस्ता घटना भएमा तत्काल उद्धार तथा नियन्त्रणका लागि दमकल, र सुरक्षाका लागि प्रहरीका गाडी तथा बिरामी बोक्ने एम्बुलेन्सलाई सहज आवागमनका लागि १३ फिटे सो सडकलाई २० फिट चौडा गर्नेगरी तत्कालैदेखि आवश्यक पहल गर्ने मन्त्री तामाङ्गको आश्वासन थियो । ऐश्वयमार्गको सो सडक कोटेश्वर चोकमा सवारी आवागमनमा चाप भएको बेला कोटदेवी मन्दिरदेखि भाटभटेनी सुपरमार्केट हँुदै बालकुमारी पुल तथा नरेफाँट हुँदै जडिबुटीसम्म जाने वैकल्पिक सडक पनि हो ।