आज विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइँदै

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौँ । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने छन्। त्यसअघि पत्रकारहरूले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकार काठमाडौं आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ । केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार