माओवादी संसदीय दल बैठकमा बजेट छलफल, ‘बिगतबाट पाठ सिकौं’

शनिबार, वैशाख २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको १०औं पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।  सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा आगामी बजेट केन्द्रित छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।  बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको अनुभवसमेत लिएर आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमलाई टेकेर कसरी बजेट निर्माण गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो राख्दै दलका मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’ प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरी सबै दल र मन्त्रीहरुका सुझावका आधारमा बजेट निर्माणमा केन्द्रित हुन दलका सदस्यहरुलाई निर्देशन दिएको जानकारी सचेतक पाण्डेले दिए ।  उनले भने, ‘प्रधानमन्त्रीज्यूले बैठकमा अर्थमन्त्रीलगायत सबै मन्त्रीहरुसँग बसेर हाम्रो दलका तर्फबाट प्रतिनिधित्व गर्नु हुने माननीय मन्त्रीज्यूहरु र हाम्रो दलका सबै सदस्यसँग मिलेर सुझाव लिन निर्देशन गर्नुभयो । विगतका नीति तथा कार्यक्रम र बजेटबाट पाठ सिकेर नयाँ आर्थिक वर्षको बजेटमाथि कसरी काम गर्ने भन्ने विषयमा नै मुख्यगरि प्रधानमन्त्रीको जोड थियो ।’ बजेटमा विशेषगरि उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्दै सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बजेट निर्माणमा प्रधानमन्त्री दाहालले जोड दिएको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार