प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

आइतबार, वैशाख २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन भ्रमण गरेकी थिइन् ।  त्यहाँ उनले कालभैरव,हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी थिइन् ।  जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए । जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी भने नभएको बताइएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार