विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं : शिक्षामन्त्री श्रेष्ठ 

बुधबार, वैशाख २६, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा देखिएका मात्र नभइ उच्च शिक्षाको सन्दर्भमा देखिएका समस्याहरु आफ्नै कार्यकालमा समाधान गर्ने दाबी गरेकी छन् ।  त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा प्रवलराज पोखरेललाई नियुक्त गर्न आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रलयस्तरबाट सुल्झाउनुपर्ने विषयहरुमा बसेर छलफल गर्न आवश्यक रहेको बताइन् । 
उनले भनिन्, ‘अहिले जति पनि विद्यार्थीको हकहितमा गर्नुपर्ने कुराहरु छन् यसमा फोकस गरेर जिज्ञासा र प्रश्न गरिदिनुभयो भने शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले के गरिरहेको छ भन्ने अवगत हुने मौका पाइन्छ । मलाई थाहा छैन पहिले विश्वविद्यालयमा के गरियो, कसरी भयो भन्ने त । तर, कम्तिमा पनि यसरी अपडेट लिन पाइयो भने परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी र अप्ठेरोमा परेका विद्यार्थीलाई कन्फिडेन्ट दिने कुरामा प्रतिबद्ध छौं ।’
त्रिभुवन विश्वविद्यालयलाई नै केन्द्रित गरेर आफूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको उत्तर उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनबाट दिइसकेको समेत बताइन् ।  उनले भनिन्, ‘टीयूलाई मात्र फोकस गरेर प्रश्नहरु गरिन्छन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले केही उत्तर दिइसकेको छ । आफ्नो स्तरबाट हुने कुराहरु त म गर्छु, हामीले कुरा गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छ । मन्त्रीस्तरबाट उल्टाउने कुरामा छलफल गरौं । जुन कुरा मैले मन्त्रिपरिषद् लगेर जानु छ, त्यो म लग्छु ।’ जग्गाको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्री श्रेष्ठको भनाइ छ । केही साताअघि त्रिविको जग्गामा अनधिकृत कब्जा र भोगचलनका समाचारहरु सञ्चारमाध्यममा आएका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार