आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मन्दिरमा भव्य मेला

बुधबार, वैशाख २६, २०८१

काठमाडौं । आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ  । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन पर्दछ ।  मातातीर्थ औंसीका दिन आज आमालाई मनपर्ने चिज दिएर खुशी राख्ने चलन छ । छोराछोरीले विषेशगरी आज आमालाई मनपर्ने मीठा मीठा खानेकुरा र वस्त्रलगायतका सामग्री दिएर आमालगायत गुरुआमा, सासूआमा र काकीहरूलाई भेटगरी आशीर्वाद ग्रहण गर्छन् ।
यस्तै, आमा नहुनेहरुले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन् । औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले आत्माले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । 


औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सुरुवात मंगलबारबाटै भइसकेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए । उनले मेलामा आउने तिर्थालुलाई सहज होस भनेर समितिले सबै व्यवस्था मिलाएको समेत उल्लेख गरे ।  काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने भक्तजनको आज भीड लाग्ने गर्दछ । 
देशका विभिन्न स्थानबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेरेको विधि गर्छन् ।  यस्तै, तीर्थमा आई आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भएर दिवंगत आमा खुसी हुने पौराणिक मान्यता रहिआएको छ ।  द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थको कुण्डमा खसेको र ग्वालाले रोटीलाई हेर्दा दिवंगत आमाको मुख देखेर रोएको तथा त्यो दिन संयोगले वैशाख कृष्ण औँसीको दिन परेको जनविश्वास रहिआएको छ । सो कुण्डमा देखिएकी आमाले ग्वालालाई नरुन आग्रह गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मातातीर्थमा आएर स्नान गर्न भनेको किंवदन्ती छ । सोही घटनालाई आधार मानेर परापूर्वकालबाटै औंसीका दिन मातातीर्थमा मेला लाग्ने गरेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार