सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बढेसँगै सुरक्षित गर्भपतन सेवा पनि प्रभावित हुन पुगेको छ । सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले एक महिनादेखि निषेधाज्ञा जारी गरेका कारण सुर्खेतका स्वास्थ्य संस्थाहरूमा सेवा लिनेको संख्यामा कमी आएको हो । यतिबेला निषेधाज्ञा कारण कर्णाली पनि ठप्प छ । यातायातका साधन बन्द छन् । स्वास्थ्यकर्मीहरू कोरोना रोकथाम तथा उपचारमा केन्द्रीत हुनुपर्ने बाध्यताले गर्दा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावित हुन पुगेको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा रबिन खड्काले कोरोना महामारीले गर्दा आमा सुरक्षा, परिवार नियोजनसम्बन्धी कार्यक्रम, सुरक्षित गर्भपतन सेवा प्रभावित हुन पुगेको बताए । ‘प्रजनन् स्वास्थ्यका आपतकालिनबाहेक अन्य सेवा सञ्चालनमा कठिनाइ भएको छ’, उनले भने, ‘गर्भपतन सेवा गोपनियतासंग जोडिएकाले महिलाहरू नजिकका स्वास्थ्य संस्थाभन्दा टाढा जाने हुँदा निषेधाज्ञाले असर परेको छ, यातायात बन्दले सूचीकृत स्वास्थ्य संस्थामा पुग्न समस्या छ ।’ यसले गर्दा सुरक्षित गर्भपतन सेवामात्रै होइन परिवार नियोजनका साधनको प्रयोगकर्तामा पनि कमी देखिएको छ । निर्देशक खड्का अनुसार परिवार नियोजनका इम्प्लान्ट, आइयूसिडी सेवा बन्द छन् । निर्देशनालयले आपतकालिन सेवाका लागि हटलाइन नम्बर र नर्स समूहले परामर्श दिइरहेको र आवश्यक परेमा उद्वार गर्ने जनाएको छ । मातृ मृत्युदर कम गर्न, गर्भपतन जटिलता हुन नदिन सजगता अपनाइरहेको निर्देशक खड्का बताउनुहुन्छ । सुरक्षित गर्भपतन गराउन सुर्खेतका ग्रामीण भेगका साथै कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत महिलाहरू वीरेन्द्रनगर आउने गर्छन् । तर निषेधाज्ञा र लकडाउनका कारण सेवा प्रवाहमा असर पुगेको स्वास्थ्यकर्मी बताउँछन् । सुर्खेतका प्रदेश अस्पताल, मेहेलकुना अस्पताल, नेपाल परिवार नियोजन संघ, मेरि स्टोप्स सेन्टर लगायतका सूचिकृत संस्थाहरूबाट सुरक्षित गर्भपतन गराउनेको संख्यामा निकै कम छ । मनोपरामर्श कर्ता शर्मिला वीसीले कोरोना कहरका कारण असुरक्षित गर्भपतनको खतरा बढेको बताए । ‘निषेधाज्ञाका कारण महिला स्वास्थ्य संस्था पुग्नै सक्दैनन्, स्वास्थ्य संस्थाको पहुँचमा पुगेका महिलाहरूले पनि कोरोनाकै त्रासले प्रभावकारी सेवा पाउन सकिरहेको अवस्था छैन्’, उनले भने, ‘सीमित स्वास्थ्यकर्मी हुँदा गोपनियता भंग हुनसक्ने भएकाले सेवा लिन कम आएका हुन सक्छन् ।’ कोरोना मात्रै भनेर बस्दा महिलाको स्वास्थ्यका लागि अघि सारिएका सबै योजना र लक्ष्यहरू पछि धकेलिँदै गइरहेकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने उनको सुझाव छ । सूचीकृत संस्थाहरूबाट सेवा अवरुद्ध हुँदा निजी मेडिकलबाट औषधि प्रयोग वा परम्परागत विधिबाट गर्भपतन गर्ने प्रचलन छ । स्वास्थ्यकर्मीका अनुसार अत्यधिक रक्तश्राप हुने, बेहोस हुने र रगतमा सङ्क्रमण हुने जस्ता जोखिम देखापर्न सक्छ । नेपाल परिवार नियोजन सङ्घ सुर्खेतका शाखा प्रबन्धक शेखर धमलाले लकडाउनले सेवाग्राहीको संख्या ह्वात्तै घटेको बताए । सङ्घको कार्यालयबाट हाल पाठेघरसम्बन्धी परीक्षण, इम्प्लान्ट, आइयूसिडी र उपकरणबाट गरिने गर्भपतन सेवा पनि बन्द छ । ‘खोप सेवा र औषधिद्वारा गरिने गर्भपतनबाहेक सबै सेवा बन्द गरेका छौं, कर्मचारीलाई सङ्क्रमण भएर दुई हप्ता कार्यालय सिल ग¥यौं’, शाखा प्रबन्धक धमलाले भने, ‘दैनिक ३५ भन्दा बढी हुने सेवाग्राही अहिले मुस्किलले १०–१२ जनामा सीमित छन् ।’ उनले भेरीगंगाको जहरे र वीरेन्द्रनगरको पिपिरामा सञ्चालन हुने क्लिनिक निषेधाज्ञाका कारण प्रभावित हुन पुगेको जानकारी दिए । निषेधाज्ञा कारण स्वास्थ्य संस्थाहरूमा सुरक्षित सामग्रीको अभाव देखिएको छ । एकातिर गर्भपतनबारे कानुनी ज्ञानको कमी, सामाजिक लाञ्छना र अर्कोतिर सेवाको पहुँच नहुँदा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्ने समस्या मुख्य चुनौतीका रूपमा रहेको मनोविमर्शकर्ता वीसीको भनाई छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण यसको जोखिम झनै बढेको छ । उनी भन्छन्, ‘सुरक्षित गर्भपतन सेवा नपाउँदा महिलाहरू असुक्षित गर्भपतनतर्फ धकेलिने जोखिम हुन्छ, यसै पनि कर्णालीका ग्रामीण समाजमा जोखिम मोलेर असुरक्षित गर्भपतन गराउने प्रवृत्ति कायमै छ ।’ सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार गत वर्ष लकडाउनमा पनि सुरक्षित गर्भपतन गराउनेको संख्या कमी थियो । आर्थिक वर्ष २०७४ कार्तिकदेखि २०७५ असोजसम्म कर्णाली प्रदेशमा पाँच हजार ७४२ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । २०७५÷०७६ को सोही अवधिमा पाँच हजार ७४१, ०७६ देखि २०७७ असोजसम्म सुरक्षित गर्भपतन सेवा लिनेमध्ये दुई हजार २१ थिए । २०७६÷७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको संख्यामा कमी देखिएको हो । यस वर्ष पनि सुरक्षित गर्भपतन सेवा लिनेको संख्यामा कमी आउने अनुमान गरिएको छ ।