सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति भन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिए । उनले भने, ‘ यहाँ विभिन्न विचारधारा बोकेका साथीहरु हुनुहुन्छ । विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ । राजनीति त हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय निकायको निर्वाचनको बेलामा ४ महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ ।’ उनले दलका नेताहरुले पार्टीका कुरा मात्रै नगरि पार्टीको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । भौतीक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका महासेठले यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल गर्ने दाबी गरे । उनले भने,‘ पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन । हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ, यस वर्षसरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ ।’