सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ : मन्त्री चौधरी

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको बताएकी छन् । रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ुयचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ु सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताइन् । ‘सौन्दर्य क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान दिएको छ । यो क्षेत्रले पछिल्लो क्षेत्र उद्योगको रूप लिँदै गएको छ’, मन्त्री चौधरीले भनिन्, ‘सौन्दर्य एउटा कला पनि हो । हामी सबैले यसको सम्मान गर्नुपर्छ । अहिलेको समयअनुसार सौन्दर्य क्षेत्र सबै क्षेत्रमा हुन आवश्यक छ ।’

Minister-Bhagbati-Chaudhary-in-Beautician-Programme-31-Baisakh-2081-(7)-1715604646.jpg
पछिल्लो समय सौन्दर्य व्यवसायको माग बढ्दै पनि गएको भन्दै उनले यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । ट्यालेन्ट प्रतियोगिताहरूले सौन्दर्य सम्बन्धी क्षेत्रमा लागेका सौन्दर्य व्यवसायीलाई थप उत्प्रेरित गर्दै आएको भन्दै उनले महिलालाई सीप सिकेर आत्मनिर्भर बनाउन सबैले जोड दिनुपर्ने बताइन् । 
सबै महिलालाई आर्थिक रूपमा सबल बनाउन जीवन उपयोगी तालिम दिएर रोजगारी तथा आत्मनिर्भरताको बाटोमा जोड्नुपर्ने मन्त्री चौधरीको भनाई थियो । 
आफू आर्थिक, सामाजिक क्षेत्रबाट राजनीतिमा आएको कुरा जोड्दै मन्त्री चौधरीले निकै लामो संघर्षबाट प्रत्यक्ष निर्वाचन जितेर राज्यको नीति निर्माण तहसम्म पुग्न सफल भएको बताइन् ।  ‘म आर्थिक, सामाजिक क्षेत्रमा काम गरेर आएको व्यक्ति । राजनीतिक रूपमा सफल हुन निकै संघर्ष गर्नुपर्‍यो । मुलुकको उपप्रधानमन्त्री जस्तो व्यक्तिसँग प्रतिस्पर्धा गर्दा पटक–पटक जितेर पनि हार्नुपर्‍यो । तर म जितेरै आउँछु भनेर निरन्तर निर्वाचन लडेर तेस्रो पटकमा निर्वाचन जिते । त्यसैले जुन सुकै क्षेत्रमा लाग्ने व्यक्तिले एक पटकको असफलताबाट निराश हुनुहुँदैन’, मन्त्री चौधरीले भनिन् । 
राजनीतिक क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएपनि मूल नेतृत्वमा अझैपनि पुग्न नसकेको भन्दै उनले त्यसका निम्ति अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताएकी छन् । मन्त्री चौधरीले महिलालाई सीप विकास गरी आर्थिक रूपमा सशक्तीकरण गराउने उद्देश्यले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारीमा रहेको समेत बताइन्  । रोज ब्युटी एकेडेमीका अध्यक्ष सोनिका रञ्जितको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सौन्दर्य क्षेत्रमा कार्यरत सौन्दर्यकर्मीहरूले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार