‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन......

मंगलबार, जेठ १, २०८१

काठमाडौं । नेपालमा अहिलेपनि कसैलाई क्यान्सर रोग लाग्यो भने उपचारको लागि ‘घरखेत नै बेच्नुपर्छ’ र त्यति गर्दा पनि क्यान्सरको बिरामीलाई बचाउन सकिँदैन भन्ने अन्धविश्वास विद्यमान छ । मुखले ठिक्क पार्ने आफन्त र छिमेकीहरू पनि यस्तो बेलामा काम लाग्दैनन् । उपचार खर्च दिनुपर्ला भनेर भाग्छन् । त्यसैले भन्ने गरिन्छ, ‘घरखेत पनि जाने र ज्यान पनि जाने’ यस्तो रोग शत्रुलाई पनि नलागोस् । 
तर क्यान्सरको उपचारको अहिलेको वास्तविकता भने यति भयानक छैन । समयमै क्यान्सर पत्ता लगाएर उपचार गर्न सकेमा विगतको तुलनामा नेपालमै सुलभ र गुणस्तरीय उपचार हुन्छ र बिरामीले पनि त्यति झण्झट बहोर्नुपर्दैन ।  यस्तै सन्देश दिनका लागि क्यान्सर रोग लागेका एकजना बिरामीको घटनालाई समेटेर महसञ्चारले ‘के डेरा के घर’ टेलि चलचित्र बनाएको छ । लामो समयदेखि चुरोटको लत लागेका हरिवंश (हरिशंकर) लाई फोक्सोको क्यान्सर लागेपछि मुखले ठिक्क पार्ने छिमेकी र आफन्तले उपचारको लागि बिरामीलाई विदेशमा लैजान गलत सल्लाह दिएपछि उपचार खर्च जुटाउनका लागि काठमाडौंको आफ्नो महंगो घर आफ्नै घरमा भाडामा बस्ने मदनकृष्ण (मदन शंकर) लाई बेचेर हरिवंश सोही घरमा भाडामा बस्न वाध्य भएको कथावस्तुलाई आधार बनाई महसञ्चारले ‘के डेरा के घर’ बनाएको हो । 

k-dera-6-1715697954.jpg
नेपालमै क्यान्सरको उपचार गर्ने अत्याधुनिक र सुविधासम्पन्न  अस्पताल तथा विशेषज्ञ चिकित्सकहरू हुँदाहुँदै पनि क्यान्सरका बिरामीलाई उपचारका लागि विदेशमा लैजाँदा धेरै खर्च लागेर आफूले दुःख गरी जोडेको एउटै मात्र घर पनि बेच्नु परेको तितो यथार्थ सो टेलिचलचित्रमा समावेश गरिएको छ । 
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य, नरेन्द्र कशांकार, नारायणदेवी श्रेष्ठ, सिरु बिष्ट, सावित्री शर्मा, राजु भुजु, शशिकुमार खड्का, पुजा लिम्बु, ओजश्वी बिष्ट, दिपक कोइराला, सहारा कोइरालालगायतको भूमिका रहेको सो टेलि चलचित्रलाई मह जोडीले निर्देशन गरेका हुन् । 
‘नेपालीको क्यान्सरको उपचार नेपालमै हुन्छ, विदेशमा जानु पर्दैन’ भन्ने सन्देश दिनको लागि सो टेलचलचित्र बनाइएको उपचारको लागि सहयोगी हातहरू संस्थाकी अध्यक्ष एवम् नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले बताइन् ।   शुक्रबार अपराह्न ३ बजेदेखि युट्युबमा राखिएको सो टेलि चलचित्र मंगलबार राति ८ बजेसम्म ९९ हजार जनाले हेरिसकेका छन् । 
राजधानीको सुन्धारास्थित सिटिसी मलमा गत शुक्रबार ‘के डेरा के घर’ को प्रिमियर शो देखाइयो । मह सञ्चारका संस्थापक एवम् निर्देशकद्वयको उपस्थितिमा देखाइएको सो प्रदर्शनीमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, पहिलो महिला मोडेल एवम् क्यान्सर विजेता डली गुरुङ्ग याकथुम्बा, क्यान्सर बिजेताहरु गायिका संगिता शाक्य थापा, ताराप्रसाद त्रिपाठीको साथै टेलिचलचित्रका निर्माण संयोजक किरण श्रेष्ठ, रोटरी क्लव यलका पदाधिकारी, नेपाल अर्वुद्ध रोग निवारण संस्थाका पदाधिकारीहरू, क्यान्सर बिजेताहरू एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ, मेडिकल निर्देशक डा.विजेशराज घिमिरे, विभिन्न विभागका प्रमुखहरूलगायत नर्सिङ्ग कर्मचारीहरूको उपस्थिति थियो ।  

k-dera-5-1715697955.jpg
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले नेपालमै क्यान्सरको उपचारको लागि अहिले विश्वस्तरीय अस्पतालहरू र विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि धेरै नेपाली बिरामीहरू आफन्त र छिमेकीको गलत सल्लाहमा उपचारको लागि विदेशिने गरेको र यसबाट लाखौं नेपाली रुपैयाँ विदेशिने गरेको र बिरामी र बिरामी कुरुवाले दुःख पाउने गरेको तथ्य औंल्याए । त्यस अवसरमा  रोटरी क्लव यलका डा.रविन्द्र रायले पनि बोलेका थिए । 
मदन देवी फाउण्डेशन ललितपुर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, आईजिआई प्रुडेन्शियल इन्सुरेन्स, नेपाल अर्वुद्धरोग निवारण संस्था ललितपुर शाखा, रोटरी क्लव अफ यल, उपचारको लागि सहयोगी हातहरु,  ललितपुर महानगरपालिका वडा नं. १६ र पूर्णमंगल जोशीको आर्थिक सहयोगमा सो टेलिचलचित्र बनाएको हो । महजोडीले उनीहरूलाई सम्मान पनि गरे । महसञ्चारले करिब ४० वर्षअघि ‘के घर के डेरा’ टेलि चलचित्र बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार