सोसल मिडिया
Contact Us
युनिकोड
राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर मुद्रास्फीति नियन्त्रणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढ्यो आयात–निर्यातको अवस्था सन्तुलन
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन हुने बताएका छन् । अर्थ मन्त्रालयमा आज अपराह्न आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले चालु आवमा आर्थिक वृद्धिसमेत हासिल गर्न चुनौतीपूर्ण भएको बताए । सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो भने कोरोना महामारीका कारण त्यसलाई संशोधन गर्दै ४.०१ प्रतिशत रहने अनुमान गरेको थियो । कोरोना महामारीको दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएपछि संशोधित ४.०१ प्रतिशतको प्रक्षेपण पनि प्राप्त गर्न नसकिने अवस्था सिर्जना भएको उनले बताए । यद्यपि उनले कोभिड महामारीको प्रतिकूलावस्थामा पनि अधिकांश समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिए । राष्ट्रिय लगानीमा विस्तार भएको, वित्तीय पहुँच, पूँजी बजार र बीमाको दायरा फराकिलो भएको, समग्र शोधनान्तर स्थिति बचतमा रहेको तथा विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति वृद्धि भएको अर्थमन्त्रीले बताए ।
‘अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक’ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका हुन् । उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए । यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।
त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको छ । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताए । उनले भने, ‘चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।’