सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरु ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा उक्त संरचना हस्तान्तरण गरेको हो । महानगरको वडा नं. १, २, १० वडाको बागमती किरानाको दुई दशमलव ८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, पैदल यात्रु हिड्ने सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ । संरचना हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा नगरप्रमुखको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको बागमती करिडोरमा संरचना निर्माण गरेकोमा समितिलाई धन्यवाद दिए । उनले भने, ‘ यो अब हाम्रो बेबी भयो, यसको टेक केयर हामी गर्छौ, संरक्षण गर्छौ ।’ उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरको वडा नं. १, २ , १० को बागमती किनारामा संरचना निर्माण गरेकोमा धन्यवाद दिइन् । हरियाली ललितपुर महानगरको पहिचान भएको बताउँदै उनले भनिन्, ‘ त्यहाँ रहेका केही संरचना अलि भद्दा जस्तो देखिन्छ, तिनको व्यवस्थापन गर्नुपर्छ ।’ एडिबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती संरचना निर्माण गरेको हो । एडिबीका राष्ट्रिय निर्देशक आरनउल्ड काच्वाइसले संरचना हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । संरचना निर्माणका लागि बसेको पहिला बैठक स्मरण गर्दै उनले भने, ‘यो परियोजना सम्पन्न भइरहँदाको कुरा सम्झिराखेको छु ’ वातावरण र हरियालीलाई प्राथमिकता दिने नगरप्रमुखसँग सहकार्य गर्न पाएकोमा हर्षित भएको उनले बताए । ललितपुर महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले समितिले बागमती किनारामा निर्माण गरेको हरियाली पार्क लगायतका नदी वरपरका सम्पदाहरुको व्यवस्थापन, संचालन तथा मर्मत सम्भारको जिम्मेवारी अब महानगरले गर्ने बताए । कार्यक्रममा आयोजना निर्देशक रविन्द्र बोहोरा, आयोजना उपनिर्देशक विदुर झाको उपस्थिति रहेको थियो ।