सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

आइतबार, जेठ ६, २०८१

काठमाडौं- नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। खोटाङ मजुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उनको शव तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकीनाग टोलस्थित निर्माणाधीन दुई तले घरको भुइँ तलामा फेला परेको थियो। त्यो स्थानलाई लागुऔषध प्रयोगकर्ताले आफ्नो आश्रयस्थल बनाएका थिए। पक्राउ परेकाहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका-३ घर भई बालाजु-जरंखु, मनमैजुलगायत स्थानका सडकपेटीमा बस्दै आएकी २१ वर्षीया वसन्धुरा कार्की, भक्तपुर चाँगुनारायण-१ घर भई सोही स्थानमा सडकपेटीमा बस्दै आएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भई सोही स्थानमा बस्दै आएकी १८ वर्षीया अन्जली श्रेष्ठ, आँधीखोला-३ कै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती गाउँपालिका-४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन्। यस्तै, अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती घर भई बालाजु, जरंखु, मनमैजुलगायतका स्थानमा सडकपेटीमै बस्दै आएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भई सोही ठाउँका सडकपेटीमा बस्दै आएका १३ वर्षीय एक नाबालक रहेका छन्। काठमाडौं-१६ स्थित अस्टनारायण हलपछाडि बाइस धारा जंगलबाट भाग्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले बताए। उनीहरूलाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाई फायर गरिएको रजौरेले जानकारी दिए।

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार