सहकारी पीडितको पक्षमा उभिने कांग्रेसको निर्णय, जेठ १३ गते विशाल प्रदर्शन गर्ने

बिहीबार, जेठ १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको बचत फिर्ता नभएसम्मसडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।  पार्टी  केन्द्रीय कार्यालय सानेमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसहकारी पीडितहरूको पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए ।  सहकारी पीडितको बचत फिर्ताको माग र ठगीमा संलग्न रहेकामाथि अनुसन्धान गर्न माग गर्दै यही १३ गते विशाल प्रदर्शन गर्ने निर्णय गरेको महतले बताए ।  बैठकका निर्णय सुनाउँदै महतले भने, ‘देशभरि सहकारीका लाखौं बचतकर्ताहरू पीडित भएका छन् ।

त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ ।  उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौं । उपप्रधान तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत् विभिन्न सहकारीका झण्डै एक अर्ब रुपैयाँ दुरुपयोग भएको छ । गृहमन्त्री भएकै कारण उनीविरुद्ध सुरक्षा निकायबाट छानबिन हुन सकेको छैन । वा, छानबिन अवरुद्ध गराइएको छ ।’  त्यस्तै कांग्रेसले संसदमा सभामुखले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ । प्रधानमन्त्रीले संसदबाट जबर्जस्ती विश्वासको मत लिएको र त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार