ललितपुर महानगर–२४ धापाखेलका ज्येष्ठ वडावासीलाई धार्मिक तीर्थाटनसहित सम्मान (भिडियो)

सोमबार, जेठ १४, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले वडा भित्र स्थायी रूपमा बसोबास गरिरहेका शारीरिक रुपमा सक्षम ६८ वर्षदेखिका माथिका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनसहित सम्मान गरेको छ ।  गत शुक्रबार वडा कार्यालयले छिमेकी जिल्ला भक्तपुरको छालिङस्थित धार्मिक तीर्थस्थल श्री पञ्चमहालक्ष्मी मन्दिर भ्रमणसहित सम्मान गरेको हो । ज्येष्ठ नागरिक समितिको आयोजनामा उक्त धार्मिक तीर्थाटनसहितको सम्मान कार्यक्रम सम्पन्न भएको हो । समितिका संयोजक एवम् वडासदस्य उद्धब बस्नेतको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा वडाअध्यक्ष दिनेश जंग पाण्डे, वडासदस्य इन्द्रा श्रीश, निशा मालबुल, वडासचिव जर्नादन शर्मा पौडेलको उपस्थिति रहेको थियो । वडा कार्यालयले ज्येष्ठ नागरिकलाई वर्षेनी धार्मिक स्थलको भ्रमणसहित सम्मानको कार्यक्रम गर्दै आएको छ । वडाले चालु आर्थिक वर्षको विनियोजित बजेटबाट ज्येष्ठ नागरिकलाई तातो पानी पिउनका लागि उपयुक्त हुने ठूला साइजको कप उपहार स्वरुप प्रदान गरेको छ ।  श्री पञ्चमहालक्ष्मी मन्दिरमा आयोजित संक्षिप्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई वडाअध्यक्ष दिनेश जंग पण्डेले उपहार सामग्री हस्तान्तरण गर्नुभयो ।  कार्यक्रममा वडाअध्यक्ष पाण्डेले वडा कार्यालयले ज्येष्ठ नागरिकहरूका लागि वर्षेनी यस्ता कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकलाई खुशी ल्याउने आशा आफूले गरेको उहाँले बताउनुभयो । कार्यक्रममा वडासदस्य इन्द्रा श्रीशले वडा कार्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले वडावासीको मुहारमा खुसी ल्याउने विश्वास व्यक्त गर्नुभयो । वडाबाट जारी भएका सूचनाका प्राविधिक पक्षहरू पनि बुझिदिन उहाँले ज्येष्ठ नागरिकहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा सभापति वडा सदस्य उद्धब बस्नेतले ज्येष्ठ नागरिकलाई सक्रिय तुल्याइराख्न धार्मिक तीर्थाटनजस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पञ्चमहालक्ष्मी मन्दिरका पुजारी पञ्चमहालक्ष्मी मन्दिरको महिमाका बारेमा ज्येष्ठ नागरिकलाई अवगत गराउनु भएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार