बेलायती वैज्ञानिकको दावी, 'कोरोना जस्तो अर्को महामारी आउने पक्का'

बुधबार, जेठ १६, २०८१

काठमाडौँ । बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन् । उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए । द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, 'हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ ।' भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ । उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन् । भ्यालेन्सले २०२१ मा जी ७ देशका नेताहरूको बैठकमा भने,  महामारीको बिरूद्ध एकजुट हुनु आवश्यक छ। यसका लागि हामीले र्‍यापिड डाइग्नोस्टिक टेस्ट, र्‍यापिड भ्याक्सिन र र्‍यापिड ट्रिटमेन्ट गर्नुपर्छ ताकि खतरा कम गर्न सकियोस् । भ्यालेन्सले जी ७ ले २०२३ सम्ममा उनको सल्लाह बिर्सिएको आरोप लगाए । उनले जी ७ वा जी २० देशको एजेन्डाबाट महामारीको विषयलाई हटाइयो भने अवस्था पहिले जस्तै हुनसक्ने बताए। उनले महामारीलाई युद्ध जस्तै सामना गर्नुपर्ने बताए । उनले भनेका थिए - 'हामीसँग सेना छ । यो यस वर्ष युद्ध हुने भएकोले होइन । बरु, हामी जान्दछौं कि यो राष्ट्रको अस्तित्वको लागि आवश्यक चीज हो । त्यसैगरी हामीले महामारीलाई पनि हेर्नुपर्छ। यसको सामना गर्न हामी सधैं तयार हुनुपर्छ ।' उनले कोरोनाको दोस्रो चरणमा सुनकले मानिसलाई मर्न छोडेको आरोप लगाएका थिए । यद्यपि, भ्यालेन्सले सुनक सरकारको धुम्रपान विरोधी विधेयकको प्रशंसा गरेका छन्। यो विधेयक पारित भएपछि बेलायतका नाबालिग युवाहरूले सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् । हाल बेलायतमा चुरोट किन्नको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ । सुनक सरकार हरेक वर्ष यसलाई बढाउन चाहन्छ । तर, भ्यालेन्सले निर्वाचनअघि विधेयक पारित नहुनेमा आफू निराश भएको बताए । प्याट्रिक भ्यालेन्स अप्रिल २०१८ देखि २०२३ सम्म बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार रहेका थिए । उनको कार्यकालमा बेलायतलगायत सम्पूर्ण विश्वले कोरोनाको प्रकोपको सामना गर्नुपरेको थियो । यस अवधिमा भ्यालेन्सले बेलायती सरकारलाई कोरोनाविरुद्ध नीति बनाउन मद्दत गरे। उनको उपलब्धिको लागि, उनलाई सन् २०२२ मा 'सर' उपाधि दिइएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार