वैदेशिक रोजगारीबाट फर्किएकाको स्वास्थ्य परीक्षण व्यवस्था माग

सोमबार, जेठ २१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुलुकमा मृगौलाका कुल बिरामीमध्ये झण्डै ३० प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपाली रहेको तथ्यांकहरुले देखाएको जनाए । ‘त्यसैले म विदेशबाट फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नुपर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने । रेमिटान्सले नेपाली अर्थतन्त्र धानिइरहेको भए तापनि यसका लागि नेपालीले ठूलो मूल्य पनि तिर्नु परिरहेको उनले बताए । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डका अनुसार विदेश पुगेका नेपाली श्रमिकमध्ये आर्थिक वर्ष २०७७-७८ को तुलनामा २०७८-७९ मा मृत्यु हुनेको संख्या ५ प्रतिशत वृद्धि भएको छ भने २०७९-८० मा १ प्रतिशत घटेको छ । त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७-७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८-७९ मा ३१.९५ र २०७९-८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ। मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग हुने तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमै उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार