सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा बजेटमा पूर्व–पश्चिम राजमार्गको बिस्तार, पुष्पलाल र हुलाकी सडकको बाँँकी खण्डको निर्माणसँगै निर्माण सुरुङ, ‘फ्लाई ओभर’ लगायतका संरचना निर्माणमा प्राथमिकता दिएको छ । आगामी आवको आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६३ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । सरकारले गुणस्तरिय यातायातको विकास गर्ने र प्रमुख शहरहरुबीचको यात्रा अवधि अधिकतम दुई घण्टा हुने गरी समय र लागत घटाउन गतियुक्त सडक, सुरुङमार्ग, उचाइ युक्त पुल, फ्लाई ओभर निर्माण गर्न बजेट बिनियोजन गरेको उनले बताए । उनले भने, “ सबै सडकको जिआइएस म्यापिङगरी बर्गिकरण गर्ने व्यवस्था मिलाईको छ ।” पूर्व–पश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहितको चार लेनमा बिस्तार गरिने गरी बजेट बिनियोजन भएको छ । कञ्चनपुर–कमला, कमला–ढल्केबर–पथलैया, नारायणगढ–बुटवाल खण्डको बिस्तारलाई तीब्रता दिइनेछ । काकडभिट्टा–इनरुवा, पथलैया–नारायणघाट, बुटवल कोहलपुर र कोहलपुर वनवासाको खण्ड डिजाइन सम्पन्न गरी निर्माण शुरु गरिने उनले बताए । राजमार्गको सघन बस्ती भएको क्षेत्रमा सर्भिस लेन, ‘अण्डर पास’ तथा ‘फ्लाई ओभर’, चुरे क्षेत्रमा सुरुङ र बन क्षेत्रमा बन्यजन्तु सुरुङ समेत निर्माण गरिनेछ । यसका लागि अर्थ मन्त्रालयले रु १५ अर्ब ३४ करोड विनियोजन गरेको छ । राष्ट्रिय गौरबको पुष्पलाल राजमार्गलाई चार लेनमा बिस्तार गरी मध्यपाहाडी क्षेत्रको बिकास मेरुदण्डको रुपमा निर्माण गरिने योजना रहेको छ । राजमार्गको दूरी घटाउन सम्भाब्यता अध्ययन गरी पुनः रेखाङ्कन गरिने र रु आठ अर्ब १३ करोड विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गको चतरा–हेटौँडा खण्डको निर्माण आगामी आबको सम्पन्न गरिने, राजमार्गमा बाँकी खण्डको रेखाङ्कन र बिस्तृत आयोजना प्रतिबेदन तयार गरी आयोजना अघि बढाइने र यसका लागि रु तीन अर्ब २० करोड विनियोजन बजेटमा उल्लेख छ । बजेट वक्तव्यमा हुलाकी राजमार्गको निर्माणको काम आगामी आब सम्पन्न गरिने, राजमार्गमा पर्ने रतुवा, कन्काई, कमला, बाग्मतीलगायतका नदीमा पुल निर्माण सम्पन्न गरिने, चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्जमा पर्ने खण्डको पुनः रेखाङ्कन गरी निर्माण सम्पन्न गरिने र लागि रु छ अर्ब ३९ करोड विनियोजन भएको छ । त्यस्तै, काठमाडौँ तराई मधेश द्रतमार्गको निर्माणलाई तीब्रता दिइने ,दु्रतमार्गमा पर्ने सुरुङमार्ग र उचाइ युक्त पुल निर्माण आगामी आबमा शुरु गरिने र आयोजनामा रु आठ अर्ब १५ करोड विनियोजन भएको छ । सिद्धार्थ राजमार्ग र कोहलपुर–सुर्खेत राजमार्गलाई डेडिकेडेट डबल लेनमा स्तरोन्नति गर्न रु सात अर्ब सो आयव्यय विवरणमा उल्लेख छ । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन खण्डको स्तरोन्नति र आबुखैरनी–पोखरा खण्ड चार लेनमा बिस्तार गर्न रु सात अर्ब २७ करोड विनियोजन भएको छ । यसैगरी पूर्व पश्चिम राजमार्गबाट तराई मधेसका १८ जिल्लाको सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई चार लेनमा बिस्तारको काम आगामी आबमा अघि बढाइने बजेट बक्तब्यमा उल्लेख छ । सो कार्यक्रमअन्तर्गत सम्पन्न हुन बाँकी खण्डको बिस्तार गर्न रु दुई अर्ब ६६ करोड बिनियाजेन भएको छ । अरनिको राजमार्गको स्तरोन्नति तथा बिस्तार गर्न रु एक अर्ब १३ करोड विनियोजन भएको छ । गल्छी–स्याफ्रुबेसी, रसुवागढी र काठमाडौँ–बिदुर सडकलाई डेडिकेडेट डबल लेनमा बिस्तार गरिने ,उत्तर–दक्षिण करिडोर निर्माणलाई तीब्रता दिइने र मेची करिडोर, तमोर करिडोर, कोशी करिडोर, त्रिशुली करिडोर, कालीगण्डकी करिडोर, सेती लोकमार्ग, निर्माण काम अघि बढाउन रु छ अर्ब ५० करोड बिनियोजन भएको छ । सरकारले कर्णाली राजमार्गको सुर्खेत–खुलालु खण्ड दुई लेनको बनाउन रु एक अर्ब २० करोड विनियोजन गरेको छ । हुम्ला सदरमुकाम सिमकोटलाई आगामी आबमा राष्ट्रिय राजमार्ग सञ्जालसँग जोडिएको छ । भेरी सडक करिडोरको जाजरकोट–दुनै खण्डको स्तरोन्नति गरिने, सडकमा ट्र्याक खोल्ने काम आगामी आबमा शुरु गरिने र सो सडकमा रु ६१ करोड विनियोजन गरेको छ । बजेटमा महाकाली करिडोरका लागि रु एक अर्ब तीन करोड छुट्टाइएको छ । आगामी आबमा ३०० पुल सम्पन्न गर्ने गरी बजेट बिनियोजन गरेको छ । दोधारा चाँदनी हुँदै भारतीय सीमा नाका जोड्ने महाकाली नदीमा चार लेनको पुल सम्पन्न गरिनेछ । पुल निर्माणतर्फ रु ११ अर्ब १० करोड विनियोजन भएको छ । पूर्व पश्चिम राजमार्गको कोशी, नारायणी राप्तीलगायतका १० सम्भाब्य सडक पुललाई सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने अर्थ मन्त्री पौडेलले बताउनुभयो । यी पुलको डिजाइन र प्रतिबेदन तयार गर्न ख्यातिप्राप्त अन्तराष्ट्रिय परामर्शदातालाई सहभागी गराइनेछ । बजेटमा सङ्घीय सरकारको अधिकार क्षेत्रको सडक तथा पुलको मापदण्ड निर्धारण, ड्रइङ डिजाइन मर्मत सम्भारमा बित्तिय स्रोत परिचालन र अभिलेखिकरणका लागि राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापनाका लागि विज्ञसहित अध्ययन कार्यदल बनाइने पनि उल्लेख छ ।