सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन् । उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन् । नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन् । गाउँका सोझासाझा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ । तर, उनीहरू आफ्ना छोरीचेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने शंकाको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन् । ती किशोरीलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा आकर्षक तलब-सुविधा हुने आश्वासन एजेन्टले दिएका हुन्छन् । एजेन्टको कुरामा मख्ख परेर किशोरी उनीहरूसँग हिँड्न तयार भएका हुन्छन् । भोलिपल्टसम्म आफ्ना छोरी बेपत्ता भएपछि आफन्त प्रहरीको सम्पर्कमा पुग्छन् । प्रहरीले गाउँमा कोही नयाँ मानिस आएको हो/हैन र तिनीहरूको हुलियाबारे सोध्छन् । हुलिया तथा संकेतहरू प्राप्त गरेपछि प्रहरी परिचालन भएका हुन्छन् । यसबीचमा एजेन्टले कारमा राखेर युवतीलाई जोगबनीतिर हिँडाउने चाँजो मिलाइसकेका हुन्छन् । तर, युवतीलाई उनीहरूले वैदेशिक रोजगारीमा लैजाने कानुनी बाटो अपनाइरहेका हुँदैनन् । ‘काठमाडौं देखेका छौं बहिनीहरूले ?,’ एजेन्टले सोधे । युवती भन्छन्, ‘छैन नि !’ ‘उसो भए जाने त ?,’ एजेन्टले सोधे । ‘जाने नि !,’ किशोरीले स्वीकृति दिन्छन् । यसपछि एजेन्टले भने, ‘रेल चढेका छौ ? चढ्ने हो ?’ किशोरीले ‘चढ्ने’ भनेपछि उनीहरूले जोगबनीतिर हिँडाउँछन्। जोगबनीबाट वीरगन्जको रेल चढ्दै त्यहाँबाट काठमाडौं जाने बताउँछन् । एजेन्टसँग कुरामा लठ्ठिएर सोझा किशोरीलाई घुमाउरो र पहाडी बाटोमा चक्कर लाग्छ । बाटोमा चक्कर लागेपछि युवतीलाई एजेन्टले औषधी भन्दै बेहोस् पार्ने ट्याबलेट खुवाइदिन्छन् ।
युवतीहरू बेहोस् भएपछि ती दुई एजेन्टलाई बोर्डर पुर्याउन झन् सजिलो हुन्छ । यसरी एजेन्टले उनीहरूलाई जोगबनी पुर्याउँदै गर्दा भारतमा रहेका चेलिबेटी बेचबिखनका नाइकेसँग संवाद गर्छन् । दुई युवती ल्याइरहेको सूचना दिन्छन् । दुई युवती हराएको सूचना पाएको प्रहरीको टोली जोगबनी परिचालन भएर ती किशोरीको खोजीमा व्यापक सर्च गरिरहेको हुन्छ । जोगबनी नाका पुगेपछि एजेन्ट समातिन्छन् । किशोरीलाई एजेन्टले भनेका कुराबारे प्रहरीले सोधीखोजी गर्दा उनीहरूले बेचिन लागेको सुइँको बल्ल पाउँछन् । सबै कुरा बताएपछि एजेन्ट प्रहरी खोरमा पुग्छन् । वास्तवमा यो कथा चेलिबेटी बेचबिखन सम्बन्धी प्रहरीले तयार पारेको सचेतनामूलक भिडिओ हो । र, नेपाली युवतीलाई विदेशमा रोजगारीको लोभ देखाएर नाका कटाउँदै भारततिर बेचबिखनमा पुर्याउन एजेन्टले कस्तो तरिका अपनाउँछन् भन्ने त्यहाँ उल्लेख छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बिहीबार एक कार्यक्रम गर्दै १५ मिनेट लामो यो सचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ । ‘वास्तवमै हाम्रो गाउँ-घरमा गरिबी, बेरोजगार सोझासिदा दिदीबहिनीहरूलाई एजेन्टले कसरी फसाएर बेचबिखनसम्म पुर्याउँछन् भन्ने सन्देश दिन यो भिडिओ तयार पारिएको हो,’ कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले भने ।
उनका अनुसार ‘महिला हिंसा तथा मानव बेचबिखनविरूद्ध जनचेतनामूलक भिडिओ’ ‘सचेतना’ कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा निर्माण गरिएको हो। उक्त भिडिओ सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सार्वजनिक गरेका थिए । कार्यक्रमका मुख्य अतिथि रहेका उनले मानव बेचबिखन सचेतनाको कार्यक्रम सार्वजनिक गर्दा चेलिबेटी र आफन्तले भोगिरहेको पीडा उजागर भएको तथा त्यसको रोकथामका लागि भूमिका खेल्ने बताए । ‘यो भिडिओले नेपाली समाजको सचित्र बिम्व र वास्तविक चित्र उजागर गरेको छ,’ उनले भने, ‘चेलिबेटी बेचबिखनमा सक्रियता साथ लागेर सचेतना फैलाउने कार्य गरेकोमा प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद ।’ कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खापुङले प्रहरीले केही न केही सामाजिक हितका लागि र विकृतिको विरूद्धमा कार्यक्रम ल्याइरहने भन्दै ‘सचेतना’ भिडिओ त्यसैमध्येको एउटा रहेको बताए । उनले यस्तो भिडिओले गाउँ-गाउँसम्म पुर्याएर चेलिबेटीहरू र आफन्तलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । खापुङले यो भिडिओ नेपाल प्रहरीको प्रदेशस्थित फेसबुक पेज, युट्युबलगायत च्यानलबाट व्यापक बनाइने बताए। ‘गाउँमा कोही अपरिचित व्यक्ति आएर डुलिरहेका छन् भने उनीहरूको गतिविधि हामीले बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतै अपराध त हुन गइरहेको छैन भनेर हामी बेलैमा सचेत भयौं भने घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’