प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जाँदै

शपथ आज
आइतबार, जेठ २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको नयाँदिल्ली जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ । प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७: १५ बजे शपथ लिने भएका छन् । मोदीले निर्वाचनको परिणामपछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए ।

मोदीको शपथ आज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै छन् । मोदी गत शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह आइतबार साँझ ७: १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।  मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् । निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।  केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार