सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि महानगरका सल्लाहकारसँग छलफल गरेको छ । सल्लाहकारसँग महानगरले अघिल्लो वर्ष पनि छलफल गरेको थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञलाई आफ्नो सल्लाहकारको रुपमा मनोनयन गरेका छन् । जनप्रतिनिधि र कर्मचारी विज्ञ नहुने भएकाले विज्ञहरुसँग महानगरको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउनु अघि सल्लाहकारसँग छलफल गरेको महर्जनले बताए । महानगरका सल्लाहकारले स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन, सम्पदा, पार्किङ लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले जनजीविकाको क्षेत्रमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम आउनुपर्ने प्रष्ट पारे । स्वास्थ्य सल्लाहकार मदन पियाले स्तन क्यान्सरले भयाभह रुप लिएको बताउँदै यो विषयलाई नीति तथा कार्यक्रममा नै समावेश गरेर लैजानुपर्ने धारणा राखे । उनले भने, ‘ क्यान्सर भए नभएको, भएपछिको उपचारमा महानगरले कार्यक्रम बनाउनुपर्छ ।’ दमका बिरामीको दिनप्रतिदिन बढ्दै गएको बताउँदै यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे । सम्पदा सल्लाहकार पिएस जोशीले सिटी नखः महानगरले दिवसको नाम दिदैँ कार्यक्रम बनाउनु पर्ने धारणा राखे । उनले भने, ‘पानी दिवस, वातावरण दिवस र सरसफाई दिवस जे भनेपनि घोषणा गरोस् महानगरले ।’ कालन्तरमा पानीको समस्या विकराल हुने बताउँदै भने, ‘रिचार्ज ललितपुरको अवधारणा अघि ल्याउनुपर्छ , नीति तथा कार्यक्रममा यो विषयलाई समेट्नुपर्छ । ’
शिक्षा सल्लाहकार लोकबहादुर खड्काले शिक्षा समुनन्तिको जननी भएको बताउँदै प्रत्येक विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्नुपर्ने बताए । उनले भने,‘आफ्नै भूमिमा रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा आवश्यक छ ।’ आर्थिक विकास सल्लाहकार विनोद सिजापतिले महानगरले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने बताउँदै नीति तथा कार्यक्रममा यो विषय समेटिनुपर्ने धारणा राखे । संस्थागत विकास सल्लाहकार भरत थापाले महानगरमा धेरै कुरा भएको बताउँदै मेरो सहर भन्न लजाउनु पर्ने अवस्था नभएको स्पष्ट पारे । जनजिविका विषयलाई प्राथमिकता दिर्ने नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउँदै उनले भने उनले भने,‘रुपान्तरणकारी योजना ल्याउनुप¥यो ।’ कृषि सल्लाहकार धर्म महर्जनले कृषि तथा वनस्पति विकास केन्द्रको स्थापना गर्नुपर्ने बताए । उक्त केन्द्रले फोहोर व्यवस्थापन गरेर कम्पोष्ट मल उत्पादन गर्न सक्ने विषयलाई आगामी वर्षको नीति तथा कार्यक्रमले समेट्नुपर्ने बताए । बोट विरुवा काट्दा नगरपालिकासँग स्वीकृति लिनुपर्ने नीति तय गर्नु उनको धारणा थियो । खेलकुद सल्लाहकार पदमकृष्ण श्रेष्ठले महिला खेलकुदलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पार्नुपर्ने धारणा राखे । राजनीतिक सल्लाहकार बाबुराज महर्जनले सम्पदा निर्माणमा छुट्टै दररेट कायम गर्ने नीति बनाउनुपर्ने बताए । उनले भने, ‘एउटै दररेट कायम गर्ने हो भने सम्पदा पुनर्निर्माण र निर्माण हुन सक्दैन ।’ प्रकोप न्यूनीकरण तथा व्यवस्थापन सल्लाहकार संस्था एनसेटका कार्यकारी निर्देशक डा. सूर्यनारायण श्रेष्ठले ललितपुरमा प्रकोप न्यूनीकरण तथा व्यवस्थापन सामग्री लगभग पर्याप्त भएको बताउँदै भने, ‘ जनशक्तिलाई दक्ष बनाउने विषयलाई नीतिमा राख्नुपर्छ । ’ कार्यक्रममा पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, राजनीतिक सल्लाहकार नन्दकिशोर शाही, राष्ट्रिय—अन्तराष्ट्रिय सल्लाहकार मुकुन्द विष्ट ,जनस्वास्थ्य सल्लाहकार तारामान अमात्य ,सामाजिक विकास सल्लाहकार रिद्धिबाबा प्रधान,सम्पदा सल्लाहकार वदनलाल न्याछ्योँ , वनस्पति सल्लाहकार पुष्पमान अमात्यले विभिन्न सुझाव दिएका थिए । आ आफ्नो विज्ञताको क्षेत्रमा धारणा राख्ने क्रममा उनीहरुको एउटै भनाई थियो, ‘महानगरको बजेट, नीति तथा कार्यक्रमले महानगरबासीको जनजिबिका सहज बनाउनुपर्छ ।’