प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशङ्करको शिष्टाचार भेट

सोमबार, जेठ २८, २०८१

काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीय मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बसेकाे होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना दिएका थिए । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद दिएका छन्र । उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो भने भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार