महालक्ष्मी नगरपालिकाले गठन गर्‍यो स्थानीय तह शिक्षा समूह 

मंगलबार, जेठ २९, २०८१

ललितपुर । महालक्ष्मी नगरपालिकाले स्थानीय तह शिक्षा समूह गठन गरेको छ । महालक्ष्मी नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी महर्जनको संयोजकत्वमा गठन भएको उक्त समूहमा १७ सदस्य रहेका छन् । समूहमा विज्ञ तथा आवश्यकताका आधारमा सदस्य थपिने नगरपालिकाले जनाएको छ । समितिमा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली, लुभु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल सिंह, महेन्द्र आदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापा, सिद्धिमंगल माविका प्रधानाध्यापक मीनबहादुर अछामी, श्रृङगेरी माविका प्रधानाध्यापक सुनिता छत्कुली, जेनियन नेशनल स्कुलकी प्रअ यशोदा कुँवर, सिद्धिपुर रेडक्रसका यज्ञकुमार नेमकुल, लुभु रेडक्रका कृष्ण श्रेष्ठ, मिलिजुली सरसफाइ लुभुका कृष्णगोपाल श्रेष्ठ, अन्तसरकारी प्रतिनिधि (सिएलसी) का कृष्णकुमार महर्जन, राष्ट्रिय अपाङग संघका प्रतिनिधि उर्मिला केसी, पत्रकार (शब्दपाटी डटकमका प्रधानसम्पादक) विश्वराज खनाल, नेपाल स्काउट एवम् लुभु माविका शिक्षिका कोपिला कार्की, सत्य महिला जागरण समूह सिद्धिपुरकी जमुना महजर्न सदस्य तथा सदस्यसचिवका रुपमा महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेल रहेका छन् । 

WhatsApp-Image-2024-06-11-at-08.01.07-1718077486.jpeg
बृहत् विद्यालय सुरक्षा कार्यान्वयन तथा जलवायु अनुकुल शिक्षा विषयमा सरोकारवाला तथा विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापन, विद्यालय सुरक्षा र समावेशी शैक्षिक निरन्तरता व्यवस्थापना साथै जोखिम न्यूनीकरण क्षमता विकास र जलवायु अनुकुलन शिक्षा सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले नगरपालिकाले स्थानीय तह शिक्षा समूह गठन गरेको हो । 
हिजो सोमबार नगरपालिकाको सभाहलमा महालक्ष्मी नगरपालिकाको आयोजना तथा  युनिसेफ, नेपाल एजुकेशन क्लस्टर तथा एनसेटको सहकार्यमा आयोजित स्थानीय तह शिक्षा समूह गठन तथा अभिमुखीकरण कार्यक्रमबाट उक्त समूहको गठन गरिएको हो ।
समूह गठन तथा अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख हरिगोविन्द श्रेष्ठले विपद्का विषयमा पूर्व तयारी महत्वपूर्ण हुने धारणा राखे । विपद् हुनुभन्दा अगाडिको अग्रिम तयारी, विपद् भइसकेपछि उद्धार तथा राहत तथा विपद्पछिको व्यवस्थापनका कुरामा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले नगरपालिका भित्र विपद्लाई हेर्न दुई तहको संरचना रहेको जनाए । 'मेरो अध्यक्षतामा विपद् व्यवस्थापन समिति छ, वडा स्तरमा वडाअध्यक्षको संयोजकत्वमा समिति छ' उहाले भने, ‘भर्खरै विपद् व्यवस्थापन समितिको बैठकले विपद्का बेला प्रभावकारी ढंगबाट काम गर्न महत्वपूर्ण निर्णय–निर्देशन पनि दिएको छ ।
साविकका पाँच गाविसका रहेका ५ वटा भण्डारण केन्द्रलाई १० वटै वडा समेट्ने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ।' 

WhatsApp-Image-2024-06-11-at-08.01.04-1718077488.jpeg
स्वच्छ हावा परियोजनाको सहकार्यमा नगरपालिकाले विभिन्न १३ वटा समूहहरूलाई वन डढेलो नियन्त्रण सम्बन्धी तालिम दिएको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले यस वर्ष एनसेटको सहकार्यमा १० वटा विद्यालयमा विद्यालयलाई लक्षित गरी  कार्यक्रम गरिने बताए ।  नगरपालिकाले गत वर्ष कर्मनाशा खोला तथा गोदावरी खोलामा जेसिबी लगाएर सफाई गर्दा आसपासका बासिन्दाले बाढीको असर बेहोर्नु परेन यस वर्ष पनि बाढी आउँदा क्षति नहोस भन्नका लागि सरसफाईका कार्यक्रम गर्ने अन्तित तयारीमा हामी छौं उनले भने । उनले स्थानीय तह शिक्षा समूह गठनका लागि गठन मात्रै नहोस भन्दै विद्यालय तहमा गएर राम्रो काम गर्न शुभकामना दिए । 
समूह गठन तथा अभिमुखीकरण कार्यक्रमकी सभापति एवम् महालक्ष्मी नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिकाले हरेक विद्यालयमा समूह गठन गरी विपद पर्दा विद्यार्थीहरूलाई कसरी जोगाउने तथा पठन पाठन कार्य नियमित गर्ने भन्ने विषयमा सहजिकरण गर्नका लागि समिति गठन गरिएको जानकारी दिँदै समितिमा समाजसेवी, विज्ञ, विद्यालयसँग सरोकार राख्ने व्यक्तित्वको प्रतिनिधित्व गराएको बताउँदै समितिका सबै सदस्यहरूबाट विपद्का बेला साथ सहयोग रहने आफूले विश्वास लिएको उल्लेख गरिन् । विपद् कहिले र कसरी आउँछ भन्ने  थाहा नभए पनि विपदका बेला उद्धार, राहत र व्यवस्थापनमा सघाउन समिति गठन गरिएको उनले बताइन् । 

WhatsApp-Image-2024-06-11-at-08.01.11-1718077486.jpeg
यो समितिले नगर प्रमुखको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको साथ सहयोग लिएर काम गर्नेछ उनले भनिन्, नगरपालिकाले विपद्का क्षेत्रमा यो वर्ष धेरै कार्यक्रम गरेको छ । केही समय अघि स्वच्छ हावा परियोजनासँगको सहकार्यमा वन डढेलो नियन्त्रण सम्बन्धी तालिम सम्पन्न गरेका थियौं । त्यसको केही समयपछि लामाटार तथा लाकुरीभञ्ज्याङग क्षेत्रको वनमा डढेलो लाग्यो । मेयर साप राति नै गएर नियन्त्र, राहत र उद्धारमा खटिनुभयो । वडाअध्यक्षसहित म पनि धेरै पटक त्यहाँ गए । डढेलोबाट मानविय क्षति नभए पनि अन्य क्षति धेरै भयो ।’
समूह सदस्यका तर्फबाट महेन्द्र आदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाले विपद्बाट बढी प्रभावित हुने क्षेत्र विद्यार्थीलाई जोगाउन योजना निर्माणसहितका कार्यका लागि लागि समूह गठन गर्ने नगरपालिकाको कार्यलाई धन्यवाद दिए । 
नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले विपद्का बेला महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उद्देश्यका साथ समूह गठन गरिएको बताउँदै जलवायु अनुकुलनको गाइड लाइनकै आधारमा १४ वटा स्कुलमा इको क्लब गठन गरिएको जानकारी दिए । कार्यक्रममा तिबेन्द्र बास्कोटाले सुरक्षित विद्यालयको अवधारणका विषयमा प्रस्तुति दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार