कावासोतीमा ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु

स्थानीयद्धारा कावासोतीका मेयरको घर घेराउ  
शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं । पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएको छ । मजदुरको मृत्युपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् । कावासोती नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेको मेयर विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै स्थानीय युवाले बिहीबार राति मेयरको घर घेराउ गरेका हुन् । मेयरको घरमा स्थानीयले ढुंगा हानेको प्रत्यक्षदर्शीले बताएका छन् । मेयरको घरको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी खटाइएको थियो । 
कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिबाट खन्न सुरु गरिएको हो । थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयको आरोप छ । फलफूल चोकका स्थानीयले केहीदिनअघि चाँडो काम सम्पन्न गर्न भन्दै मेयर कहाँ डेलिगेसन गएका थिए । खाल्डो खन्दा पुरिएका बिहीबार साँझ ६ बजेतिर ३ महिला मजदुरमध्ये २ जनाको अस्पताल लैजाँदै गर्दा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नगरपालिकाले महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि ९, १० फिट गहिरो खाल्डो (नाला) खन्ने क्रममा ३ जना महिला मजदुर पुरिएका थिए । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार