प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

ठूला पूर्वाधार आयोजना निर्माण सम्पन्न हुँदा ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित : प्रधानमन्त्री 
शुक्रबार, जेठ ३२, २०८१

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् ।  ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२÷११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।  मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । 

WhatsApp-Image-2024-06-14-at-12.27.49-1718352253.jpeg
हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ । 
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । 
हेटौंडा ४०० केभी सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनावाट निर्माण गरिएको २२०÷१३२÷११ केभी हेटौंडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ । 

ठूला पूर्वाधार आयोजना निर्माण सम्पन्न हुँदा ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित : प्रधानमन्त्री 

प्रधानमन्त्री ‘प्रचण्ड’ले  ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताए । 
 हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चचालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको बताए।
“तीन ठूला सबस्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको  द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,” प्रधानमन्त्री प्रचण्डले भने, “सबस्टेशनहरू निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ ।” 

WhatsApp-Image-2024-06-14-at-12.28.00-1718352260.jpeg

उनले विद्युत उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौं किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीब्र गतिमा भइरहेका बताए ।
विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरू अँध्यारोमै थिए । तर, अहिले करिब ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ ।”
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बर्ताए । उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण निर्देशन र्दिए।
“करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्नसक्ने पूर्वाधार तयार हुनुलाई मैले देशको ऊर्जा विकासका लागि महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “पूर्व–पश्चिम विद्युत आपूर्ति गर्न र भारतर्फ थप विद्युत प्रवाह तथा क्षेत्रीय विद्युत व्यापारका लागि हेटौंडा सबस्टेसन अर्को ठूलो ‘हब’ बनेको छ ।”
नेपाली इन्जिनियर तथा प्राविधिकहरूबाट नै डिजाइन तथा निर्माण सुपरीवेक्षण गरिएका ४०० केभीका तीन वटा सबस्टेसनको निर्माणबाट नेपालको प्राविधिक क्षमता बृद्धि भएको बताउँदै प्रधानमन्त्रीले उक्त ज्ञान, सीप र दक्षलाई अन्य आयोजनामा अनुशरण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार