सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन् । स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? विषयक बजेट समीक्षा’ कार्यक्रममा उहाँले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए । ‘निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो’ उनले भने, ‘भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।’ नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा.चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भने, ‘भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताए । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उनको भनाइ छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताए । स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले संसदमा नीति र कार्यक्रम प्रस्तुत नगरी बजेट आउनु संविधानको मर्म र भावनाविपरीत भएको बताए ।
'विगतकै योजनालाई निरन्तरता' अर्थविद्ले आगामी वर्ष २०७८÷०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आज आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’ विषयको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् । कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्काे सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे । काग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे । काग्रेस केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताए । पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र डा गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनविना नै योजना समावेश गरिको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राखे । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका पूर्वअध्यक्ष डा.रवीन्द्र पाण्डे, व्यवसायी नरेश श्रेष्ठ, अर्थविद् डा.विश्व पौडेल, राजु नेपाल, दधि अधिकारीलगायतले सरकारले घोषणा गरेको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।