सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । वर्षा लागेसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्य नजर गरी ललितपुर महानगरपालिका २७ नं. वडा अन्तर्गतको वडा स्वास्थ्य कार्यान्वयन समितिले सुनाकोठी स्वास्थ्य चौकीसँगको समन्वयमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने थालेको छ । ललितपुर महानगरपालिका २७ नं. वडाकी महिला सदस्य रामदेवी महर्जनको नेतृत्वमा सुनाकोठी स्वास्थ्य चौकी प्रमुख डिल्लीराम श्रेष्ठ, वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्य तथा महिला स्वास्थ्य स्वयम्सेविकासहितको टोली हिजोदेखि यो अभियानमा खटिएका छन् । ‘२ दिने स्थलगत लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान’ आज वडा नं २७ को वखाट क्षेत्रमा स्वास्थ्यकर्मीले डेङ्गुबाट बच्ने उपायका बारेमा स्थानीयलाई सचेत गराउँदै लामखुट्टेको लार्भा संकलन गरेका थिए । वैशाख महिनादेखि कार्तिकसम्म डेङ्गीको जोखिम रहने चिकित्सकहरूको भनाइ रहेको छ । गत वर्ष देशभर १,०२४ जनालाई डेङ्गीको सङ्क्रमण भएको थियो । डेङ्गी रोग फैलाउने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुने विज्ञहरू बताउँछन् । वडा स्वास्थ्य कार्यान्वयन समितिको पहलमा वडाका विभिन्न स्थानमा लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने कार्य अघि बढाइएको सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्ली राम श्रेष्ठले शब्दपाटीलाई बताए । ¥यापिड रेस्पेन्स टिम (आरआरटी)को बैठक बसेर वडाका विभिन्न स्थानमा २ दिनसम्म लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट कार्यक्रम गरिएको उनले जानकारी दिए ।
के हो डेङ्गी ? डेङ्गी एडीज एजीप्टी वा एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो । विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुने आँकडा छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ । अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि डेङ्गीलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ। डेङ्गीका कारण ज्यानै जाने सम्भावना न्यून भए पनि स्वास्थ्यमा असर पार्ने भएकाले यसबाट जोगिनु पर्ने विज्ञहरूको सुझाव छ।
डेङ्गीबाट कसरी जोगिने र लक्षण कस्ता ? लामखुट्टेको अण्डा नष्ट पार्नुसँगै लामखुट्टेको टोकाइबाट जोगिनु डेङ्गी सङ्क्रमण नियन्त्रणको प्राथमिक उपाय हो । “सम्भव भएसम्म घर वरपर पानी जम्न दिनु नै भएन। डेङ्गी सार्ने लामखुट्टे बिहान र सूर्यास्तभन्दा अगाडि सक्रिय हुने भएकाले विशेषगरी ती समय र अन्य बेला पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्यो,” स्वास्थ्यकर्मीले भने ।
नेपालमा डेङ्गी कहिले सुरु भयो ? नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो। त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमशः बढ्दै गएको छ । त्यस यता नेपालमा कम्तीमा ८८ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन् । सन् २०१७ मा सबैभन्दा बढी दुई हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो ।