जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे....

शुक्रबार, असार ७, २०८१

काठमाण्डौ । शुक्रबार विहानै प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) शिवराज बुढाथोकी र प्रहरी वृत्त कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राई हातमा हँसिया लिएर मनोहरा खोला किनारमा उम्रिएको गाँजाको बोट काट्न निस्केपछि वटुवाहरु छक्क पर्दै उनीहरुलाई हेरिरहे । पेस्तोल बोक्ने हातमा हँसिया देखेर वटुवाहरु छक्क परेका थिए । ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, सामुदायिक प्रहरी सेवा कोटेश्वर र कोटदेवी विद्यानगर समाज सुधार समितिको संयुक्त पहलमा खोला किनारको गाँजाको बोट फँडानी गरिएको थियो । 

dsp-2-1718980938.jpg
गाँजा फँडानी गर्न नयाँबानेश्वर वृत्तका प्रमुख, डिएसपि  बुढाथोकीले नेतृत्व गरेका थिए भने प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राईको साथमा कोटेश्वर र नरेफाँट चौकीकासहित ठुलो संख्यामा प्रहरी साथै सामुदायिक प्रहरी, स्थानीय टोलवासी र सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापा लगायतका पदाधिकारीहरु पनि सहभागी भएका थिए ।  साथै कोटदेवी विद्यानगर समाज सुधार समितिका पदाधिकारीहरु, स्थानीय नरेफाँटका समाजसेवी, युवा तथा खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  करीव दुई घण्टाको अवधिमा मनोहरा खोला किनार उम्रिएका झण्डै एकहजार गाँजाका बोट नष्ट गरिएको नयाँ बानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

dsp-3-1718980955.jpg
हरेक वर्षको वर्षायाममा आफैं उम्रिने गाँजाको बोट प्रहरी र समुदाय मिलेर नष्ट गर्दै आएका छन् ।  आफैं उम्रिएका गाँजाको बोट नष्ट गर्नुमात्र नभई आफ्नो क्षेत्रका युवाहरुलाई गाँजा लगायतका अन्य लागुऔषधको दुव्र्यसनबाट जोगाउन पनि सबैजना एकजुट हुन डिएसपि बुढाथोकीले आग्रह गरे ।  प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत पर्ने मनोहरा खोला किनारमा उम्रिएको गाँजाको बोट नष्ट गर्ने काम शुक्रबारदेखि शुरु भएको र यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राईले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार