लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न

बुधबार, असार १२, २०८१

काठमाडौँ ।  काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम नेपाली सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा बुधबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा गृहमन्त्री लामिछाने, गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका अधिकारीहरू, स्काउट, विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थीहरू एवम् सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न चेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै उक्त सभामण्डपमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २१औँ संस्करणको लोकार्पण गरेका थिए । उनले दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी संगीत विद्यालय, सशस्त्र प्रहरी बल सांगितिक बाद्यबाधन गुल्म, नेपाल स्काउट, प्याब्सन लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुको साथै  आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट हुन सफल नयाँ जीवन पुनर्स्थापना केन्द्र बागलुङ र सियान रिह्‍याबिलेशन हेटौंडालाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले लागूऔषध प्रयोग तथा बेचबिखन आजको समाजको प्रमुख समस्या रहेको उल्लेख गर्दै यसको समाधानमा सरोकारवाला चार वटै मन्त्रालय एकै ठाउँमा उभिएर देशको युवा बचाउन लागि पर्ने बताए । उनले सीमित स्रोतका बावजुद धेरै जिम्मेवारी बोकेको प्रहरीलाई कर्तब्यनिष्ठ भएर लागूऔषध कारोबारीलाई कानूनको दायरामा ल्याउन निर्देशन दिए । दुर्व्यसनीलाई समाजमा पुनर्स्थापित गराउन सबैले मदत गर्नुपर्ने विचार उनले व्यक्त गरे । उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले आ-आफ्नो विचार व्यक्त गर्दै लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा आफू र आफ्नो मन्त्रालय कटिबद्ध रहेको उल्लेख गरे । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष तथा गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यले देशको चिन्ताको रूपमा रहेको लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी बोकेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी समाजको साझा उद्देश्य प्राप्ती र सुखी समाज निर्माणमा आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्ने बताए । गृह मन्त्रालयका सह-सचिव ई. गोगन बहादुर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेसफाडा नेपाल, रिकभरिङ नेपाल, एफडिडिआरका प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । ‘लागूऔषध दुरूपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नृत्य प्रस्तुती गरेका थिए । गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, विद्यार्थी, अभिभावक एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार