झलनाथ र घनश्यामबीच छलफल, अध्यक्ष नेपाललाई मिलेर चुनौती दिने तयारी

बुधबार, असार १२, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् । यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबि गरिएको छ । खनाल र भुसाल एक ठाउमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ । औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उनले भुसाललाई अगाडी सार्ने रणनीति बनाएको बुझिएको छ । असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो । करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ । महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ । तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार