ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

बुधबार, असार १२, २०८१

काठमाडौं- देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे  चार्ज गरी सञ्चालनमा ल्याइएको हो। ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ । ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरू भएको छ। यसअघि ढल्केबर-मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको थियो ।

अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रुपमा कोशी प्रदेशका तराईका जिल्लाहरुमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापारको परिमाण बृद्धि गर्न महत्वपूर्ण उपलब्धी हासिल भएको बताए। प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्दछ । प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात-निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे। अहिले दुई देशबीचको विद्युत् आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युत्लाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर-इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट  इनरुवा सबस्टेसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो। प्रसारण लाइनलाई हेटौंडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर-इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार