प्लास्टिकको फुट प्रिन्ट हटाउने अभियानले गर्‍यो बुढानीलकण्ठ नगरपालिका १० को प्लाष्टिकजन्य फोहोर संकलन तथा विसर्जन

शुक्रबार, असार १४, २०८१

काठमाडौं । बिहीबार बिहान सात बजे बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा जथाभावी फ्याकिएका प्लाष्टिकका बोतल तथा फोहोर उठाइरहेको दृश्य देखिन्थ्यो । करिब तीन सय जना पहेंलो ज्याकेट लगाएर प्लाष्टिकजन्य फोहोरहरू उठाइरहेका ‘ प्लास्टिक फुट प्रिन्ट हटाउने अभियान’ का सदस्यहरू हुन्, जसलाई आयोजना गरेको थियो परमेश्वरको मण्डली विश्व सु–समाचार समाज परिवारले । कार्बनडाइअक्साइड न्यूनीकरणका लागि आयोजित प्लाष्टिकको ‘फुट प्रिन्ट हटाउन अभियान’ ले बालुवाखानी साप्रेढुंगादेखि निलोपुलसम्मको फोहोर संकलन गरेको थियो। वयस्क, युवा र विद्यार्थीका प्रतिनिधिले ‘संयुक्त घोषणा पत्र’मार्फत, समुद्रमा फ्याँकिने प्लास्टिकजन्य फोहोरलाई रोकथाम गरेर कार्बन उत्सर्जन कम गर्ने, पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न प्रयत्न गर्ने र प्लास्टिक न्यूनीकरणका लागि सर्वसाधारणमाझ जनचेतना जगाउने लक्ष्य फुट प्रिन्ट हटाउन अभियानको रहेको छ। करिब पाँच किलोमिटर आसपासका प्लाष्टिकजन्य पानीको बोतल, प्लास्टिकहरू, कप, स्ट्र, डिस्पोजेबल सामग्री इत्यादि विभिन्न किसिमका फोहोरहरू र घरेलु फोहोरहरू संकलन गरेको थियो। करिब तीन सय बोरा भरिएका प्लाष्टिकजन्य फोहोरलाई स्वयंसेवकहरूले पुनस्प्रयोग गर्न मिल्ने र प्लास्टिकजन्य फोहोरलाई छुट्ट्याएर त्यसलाई विसर्जन पनि गरेको थियो। प्लास्टिकको हानिकारक प्रभावबारे अवगत गराउनलाई प्यानलहरू राखेर, सर्वसाधारणलाई प्लास्टिकको फुटप्रिन्ट हटाउनुको महत्त्वबारे जानकारी दिँदै विभिन्न उपायहरू पनि आदानप्रदान गरिएको थियो। बुढानीलकण्ठ नगरपालिकाले गतिविधिको उद्देश्यप्रति पूर्ण सहमति जनाउँदै नगर प्रमुखको समेत सहभागिता थियो। कार्यक्रममा उपस्थित मेयर मीठाराम अधिकारीले भने, ‘प्लाष्टिकजन्य फोहोरहरु संकलन गरेर मात्रै पुग्दैन। यस्तो अभियान त घरघरमा हरेक सदस्यलाई जानकारी दिन आवश्यक छ। व्यक्तिगत रूपमा सचेतना जगाउन सकियो भने अझ प्रभावकारी हुनेछ।’ आगामी दिनमा पनि यस्ता अभियानहरू निरन्तर गर्न उनले आग्रह गरे। हरेक व्यक्तिलाई सरसफाइका लागि जनचेतना जगाउनुका साथै प्लास्टिक संकलन गरी वडालाई सफा र प्रदूषणरहित बनाउन सघाएको भन्दै मण्डली मण्डली विश्व सु—समाचार समाजलाई वडा नम्बर १० का अध्यक्ष नजराज भट्टराईले धन्यवाद व्यक्त गरे । ‘नगर र वडाले गर्नुपर्ने काम परमेश्वरको मण्डली विश्व सु—समाचार समाजलाई धन्यवाद,’ उनले भने, ‘हरेक वर्ष एक करोड टन प्लाष्टिकजन्य फोहोर समुद्रमा बगेर जान्छ। प्लाष्टिककै कारण यो धोवीखोला पनि अत्यधिक फोहोर भएको छ। सबैले प्लास्टिकको झोला कम प्रयोग गरियो भने फोहोर पनि कम हुन सक्छ। पृथ्वीलाई सबैले सफा राख्न सक्यो भने पृथ्वीको आयु पनि बढ्ने छ।’ उनका अनुसार आम नागरिकलाई यो बारे जनचेतना जगाउन समाजका सबै सदस्यलाई बुझाउन आवश्यक रहेको औंलाए। ‘हाम्रो जीवनमा जताततै प्रयोग गरिने प्लास्टिकका कारण वातावरण प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दैगएको छ। यस ‘प्लास्टिकको फुटप्रिन्ट’ हटाउने अभियानमार्फत स्थानीय समाजलाई अझ स्वस्थ बनाउन र वातावरणलाई सफा पार्न मण्डलीका सन्तहरू एकजुट भएका छन्,’ वी लव फाउण्डेशनकी सदस्य शर्मिला कार्कीले भनिन्। अभियानका संयोजक कुमार तामाङले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न टेवा पुर्‍याउने कोसिस भएको बताए । साथै सन्तहरूले प्लास्टिकको हानिकारक प्रभावबारे अवगत गराउनलाई प्यानलहरू राखेर, सर्वसाधारणलाई प्लास्टिकको फुटप्रिन्ट हटाउनुको महत्त्वबारे जानकारी दिँदै विभिन्न उपायहरू पनि आदानप्रदान गरेका थिए । अहिलेसम्म परमेश्वरको मण्डलीले नेपालमा वातावरण सरसफाइ, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा प्रेम र सहयोग गरेबापत् बागमती प्रदेशको समाज विकासमन्त्री, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष, श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक आदि विभिन्न क्षेत्रका व्यक्तिहरूबाट कदर–पत्र प्राप्त गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार