ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल 

शनिबार, असार १५, २०८१

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ ।  सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । निर्धारित समय अघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिएका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो । 
पुल पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै उनले यो पुलले सुनाकोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए । नगर प्रमुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भने, ‘त्यस्तै किसिमको विपद आइहाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ ।’

448702721_467770769178818_5774911292091698436_n-1719667790.jpg

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुनाकोठी र बुडमति बासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रष्ट पारिन । यो पुलले आर्थिक सामाजिक रुपमा स्थानीयलाई समृद्ध बनाउन सहयोग पुग्ने उनकाे भनाइ थियो । कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । वडाअध्यक्षहरुले कम्पनीको लगनशीलता र इमानदारीप्रति आभार व्यक्त गरे । महानगरका इन्जिनियर प्रदीप पौडेलले पुललाई बलियो बनाउन प्राविधिक रुपमा गरेका काम बारे जानकारी दिए ।  पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो । 

Photo-(14)-(1)-1719661627.jpg
अन्य दुई पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा 
ललितपुर महानगरले आफ्नै लगानमिा निर्माण सुरु गरेको अन्य दुईवटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।  रानीबुँ कुसुन्ती (वडा नं.१३) र भैसीँपाटी (वडा नंं.२५) जोड्नेछ । त्यसैगरी वडा नं. १४ स्थित नखिपोटमा बनेको पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको हो ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यी पुल प्रयोगमा आउन थालेपछि नगरबासीलाई धेरै सजिलो हुने बताए । उनले भने,‘यी पुल दुरी छोट्याउने, सम्बन्ध बढाउने पुल हुन् ।’ नगर प्रमुख महर्जनले पुल प्रयोगमा आउन थालेपछि ट्राफिक जामको समस्या समेत कम हुने बताए । उनले भने, ‘पुल भएपछि मुख्य बाटोको विकल्प समेत तयार हुन्छ ।’ महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुईवटा पुल पनि बनिसक्ने बताए । उनले भने, ‘दुई वर्षभित्र तीनवटा पुल निर्माण सम्पन्न हुनेछन् , यो महानगरको लागि ठूलो उपलब्धि हो ।’
सुनाकोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ । यो पुलका लागि करिब ५ करोड बजेट छुट्याइएको छ । महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ ।  
कुसुन्ती रानीबुँ र भैँसेपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ । यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ ।  नखिपाट र भैँसेपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ भने करिब ४ करोड बजेट छुट्याइएको छ ।

448846794_741033558001169_8600168443739002301_n-1719667790.jpg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार