सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच नयाँ सत्ता समिकरणको खाका बनेसँगै सरकार गठबबारे परामर्श गरेका छन् । काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बन्न लागेको हो । संसदका दुई ठूला दल नयाँ सरकार गठनबारे सहमत भएसँगै मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास गए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि काँग्रेस र एमालेका नेताहरू सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् । राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबीच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ । राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका छन् । दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा पनि सहमतिलाई अन्तिम रूप दिइसकेका छन् । सङ्घीय सरकारको प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने छन् । त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको बताइएको छ । एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू लिने भएको छ भने काँग्रेसले गृहसहितका मन्त्रालय लिने मोटामोटी सहमति भएको छ । संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबीच समझदारी भएको छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रित दललाई नेतृत्व दिने सहमति छ ।