सुनाकोठी स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मार्फत क्षयरोग पत्ता लगाउने नि:शुल्क शिविर (भिडियो)

बुधबार, असार १९, २०८१

सुनाकोठी (ललितपुर) ।  ललितपुर महानगरपालिका २७ नं. वडास्थित सुनाकोठी स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मार्फत क्षयरोग पत्ता लगाउन निःशुल्क शिविर सम्पन्न भएको छ ।  क्षयरोगका बिरामीहरूको खोजी गर्न छातीको एक्सरेसहितको माईक्रोस्पिक खकार परीक्षणका लागि   निःशुल्क शिविर आयोजना गरिएको हो ।  सुनाकोठी स्वास्थ्य चौकीमा सोमबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालित उक्त शिविरमा महानगर वडा नं २७ का २ सय वडावासीले सेवा लिएका छन् ।  डिजिटल एक्स–रे मार्फत एक्टीभ क्षयरोग पत्ता लगाउने तथा खकार परीक्षण नि: शुल्क शिविर गरिएको हो ।  सरुवा रोगको रुपमा फैलिँदै गरेको क्षयरोगलाई रोक्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । सरकारले सन् २०३५ सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । सरकारी लक्ष्य हासिल गर्न सघाउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्ली राम श्रेष्ठले जानकारी दिनुभयो ।  शिविरमा २०० जना वडावासीको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य लिइएको भएपनि सेवा लिन आउने कसैलाई परीक्षण नगरी फिर्ता नपठाउने व्यवस्था गरिएको महानगर २७ नं वडाकी महिला वडासदस्य रामदेवी महर्जनले जानकारी दिनुभयो । 

kri-1719982361.jpg

मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पूरानो रोगमध्येमा पर्छ क्षयरोग । सन् १८८२ मार्च २४ मा क्षयरोगको किटाणु पत्ता लागेको हो । श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित भएकोले आजका दिनसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भैरहेको छ । हाल १३५ वटा सरकारी अस्पताल, २१६८ वटा गैरसरकारी स्वास्थ्य संस्थाहरू, १९६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३८०६ वटा स्वास्थ्य चौकी र ५१,४२० जना महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत क्षयरोग निवारण सम्बन्धी कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

T-B-1719982355.jpg
आर्थिक वर्ष २०७७-७८ को २३८ प्रति लाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा यो दरलाई आर्थिक वर्ष २०८२-८३ को अन्त्य सम्ममा ८१ प्रति लाख जनसंख्यामा पु¥याउने र मृत्युदरलाई आ.व. २०७७-७८ को ५८ प्रति लाख जनसंख्याबाट आ.व. २०८२-८३ को अन्त्य सम्ममा २३ प्रतिलाख जनसंख्यामा झार्ने योजना सरकारले लिएको छ । नेपालमा क्षयरोग स्वास्थ समस्याका साथसाथै सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिकलगायतको समस्याको रुपमा रहेको छ । क्षयरोगलाई समयमै पहिचान गर्न सकेमा र समयमै उपचारको दायरामा ल्याउन सकेमा रोग लागि सकेकालाई सजिलै निको बनाउन सकिने र अरुमा सर्नबाट पनि बचाउन सकिने छ । सन् २०१८ मा भएको क्षयरोग सम्बन्धी सर्वेक्षणले नेपालमा औसत रुपमा वार्षिक करिव ६९ हजार नयाँ क्षयरोगका बिरामी हुने र नयाँ र पुराना बिरामीको संख्या हरेक वर्ष १ लाख १६ हजारको संख्यामा हुने देखाएको छ। सोही सर्वेक्षणले नेपालमा क्षयरोगका कारणले हरेक वर्ष करिब १७ हजार नेपाली नागरिकले अकालमा ज्यान गुमाउने गरेको तथ्य पनि देखाएको छ । यो मृत्युको संख्या अनुमानित जम्मा नयाँ बिरामीको संख्याको करिव २५ प्रतिशत हुन आउँछ । जबकी विश्वको अवस्थालाई हेर्दा क्षयरोगका कारणले हुने मृत्यु करिब १५ प्रतिशत हाराहारीमा मात्र रहेको देखिन्छ । 

Digita-TB-1719982354.jpg
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार